इटहरी : इटहरी गोल्डकपको उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन सगरमाथा युथ क्लब (मोरङ) विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल मोरङ र एभेनियर फुटबल क्लब क्यामरुन बिच भएको थियो । 
निर्धारित ९० मिनेटमा कुनै दुवै टिमले गोल गर्न नसकेपछि ४ मिनेट समय थप भयो । थपिएको ४ मिनेट गोलरहित भएपछि पेनाल्टी सुट आउटबाट खेलको टुङ्गो लागेको हो ।
पेनाल्टी सुट आउटमा क्यामरुन मोरङसँग ४-३ को गोल अन्तरले पराजित भएको हो । मोरङकालागि अविशेक राई, राजीव लोप्चन, अविशेक लिम्बु र मेसुकेले गोल गरे ।
एभेनियर जारी सिजनमा बुढासुब्बा गोल्डकप र दोश्रो बर्दिबास गोल्डकप बिजेता टोली समेत हो । खेलमा एभेनियरले निक्कै दबाब सृजना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । 
इटहरी रङ्गशालामा शनिवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले खेलका उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर पौडेलले खेलकुदले मात्र जनताको भावनालाई एकसुत्रमा जोडन सक्ने बताए ।
राजनीतिक नेतृत्वले जनताको भावनालाई जोड्न नसकिरहेको अवस्थामा फुटबल लगायतका खेलले देशको झन्डा बोक्ने र एकताको सन्देश दिने गौरवपूर्ण काम गरेको प्रस्ट पारे । आगामी दिनमा इटहरी गोल्डकपमा उपमहानगरपालिकाले अझ बढी लगानी गर्दै जाने उनको भनाई छ ।
राष्ट्रिय जागृति क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
सर्वोत्कृष्ट खेलाडीले १ लाख साथै विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र म्यान अफ दि म्याचले नगद १० हजार पाउने आयोजकले जनाएको छ।
कन्ट्रोल लुब्रीकेन्ट मुख्य प्रयोजक रहेको प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गरेको छ। भोलिको खेल चर्च ब्वाइज एफसी र आयोजक राष्ट्रिय जागृति क्लब बिच हुने भएको छ ।
itahari-goldcup-day-1