इटहरी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सुनसरी क्षेत्र नम्बर ४ मा पर्ने सुनसरी बहुमुखी क्याम्पस इनरुवा र सप्तकोसी बहुमुखी क्याम्पस वराहक्षेत्रमा नेपाल विद्यार्थी सङ्घ पराजित भएको छ । नेपाली काँग्रेसको बलियो भातृ सङ्गठन मानिएको नेविसंघले दुवै क्याम्पसमा बलियो उपस्थिति देखाउन सकेन ।
दुई क्याम्पसको क्षेत्रमा पर्ने स्थानीय, प्रदेश र सङ्घमा समेत नेपाली काँग्रेस विजयी भएको छ । वराहक्षेत्र र इनरुवा नगरपालिका, भोक्राह नरसिंह र कोसी गाउँपालिका दुई क्याम्पसका आधार क्षेत्र हुन् । सम्पूर्ण स्थानीय तहमा नेपाली काँग्रेसले नेतृत्व गरिरहेको छ । 
वराहक्षेत्रमा नेपाली काँग्रेसका नगर सभापति समेत रहेका रमेश कार्की मेयरमा निर्वाचित भएका छन् । इनरुवामा काँग्रेस जिल्ला सभापति केदार भण्डारीले नेतृत्व गरिरहेका छन् । उपमेयरमा पनि काँग्रेसकै विनीता कुमारी मेहता छिन् । कोसीको अध्यक्षमा काँग्रेसका ४ नम्बर क्षेत्रीय सभापति समेत रहेका ऐयुव अन्सारी छन् । उपाध्यक्षमा काँग्रेसकै अनिता देवी यादव निर्वाचित भएकी हुन्।
भोक्राह नरसिंहमा काँग्रेसकै अजमल अख्तर मियाँ प्रमुख छन् । हरिनगर गाउँपालिकामा पनि काँग्रेसका जिल्ला उपसभापतिका उम्मेदवार रहेका गफार अन्सारी दोस्रो कार्यकालको लागि पालिका अध्यक्षको नेतृत्वमा छन् । 
दुई क्याम्पसको भूगोल भित्र पर्ने क्षेत्र नम्बर ४ प्रदेशसभा १ र २ मा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । सदानन्द मण्डल र हाजी इसराईल मन्सुरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । दुवै क्याम्पस नेविसंघका पूर्व केन्द्रीय सभापति तथा हाल प्रतिनिधिसभा सदस्यमा विजयी ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र हो । प्रतिनिधिसभामा कार्की दोस्रो पटक निर्वाचित भएका हुन् । नेविसंघ पूर्व जिल्ला सभापति सुनिल कुमार शाह सुनसरी क्याम्पसबाटै विद्यार्थी राजनीति गरेका नेता हुन् । 
काँग्रेसको प्रभावशाली व्यक्तित्व उत्पादन गरेको र गढ मानिएको क्षेत्रमै नेविसंघले पराजय भोग्नु परेको छ । २ नम्बरका क्षेत्रीय सभापति लीलामणि सुवेदी समेत इनरुवा बाटै राजनीति गर्ने नेता हुन् । पूर्व जिल्ला सभापतिहरू राजीव कोइराला, राम बहादुर बस्नेत इनरुवाबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेताको रूपमा चिनिन्छन् ।
काँग्रेस जिल्ला सचिव तथा उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्र शाह त्यत्तिकै प्रभावकारी व्यक्तित्व हुन् । तर उनको व्यक्तित्वको प्रभाव स्ववियु निर्वाचनमा देखिएन । जिल्ला समन्वय समितिका सभापति राजन मेहता इनरुवाका पूर्व मेयर समेत हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका उनले समेत स्ववियु निर्वाचनमा भूमिका देखाउन सकेनन् । 
स्ववियु निर्वाचनकै दिन नेपाल शिक्षक सङ्घ सुनसरीको दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भए इनरुवाका वेणु प्रसाद सिग्देल । शिक्षकमाझ प्रभावशाली देखिएका उनी स्ववियु निर्वाचनमा निश्प्रभावि देखिए ।  
गुमेको गढ
नेविसंघका र काँग्रेसका नेतृत्वमा इनरुवा बहुमुखीमा कसैले हल्लाउन नसक्ने बुझाई व्यक्त भयो । त्यही बुझाइले अन्य सङ्गठन सँगको तालमेल हुन सकेन । जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) सँग तालमेल गर्यो ।  
नेविसंघले एउटा सदस्य बाहेक सम्पूर्ण पद गुमायो । सभापतिमा नेविसंघका नन्दन गुप्ता समाजवादी विद्यार्थी युनियनका देव कुमार यादव सँग पराजित हुन पुगे । स्थानीय नेताहरूको निष्क्रियता सँगै जातीय, भौगोलिक र राजनीतिक समीकरण मिलाउन नसक्दा नेविसंघ पराजित हुन पुगेको विद्यार्थी नेताहरू बताउँछन् । 
सप्तकोसीमा भने उम्मेदवारीमा गुटबन्दीको हठ प्रमुख कारण बनेको छ । २०७४ को स्ववियु निर्वाचनमा सुनसरीको एक मात्र क्याम्पस सप्तकोसीमा विजयी भएको नेविसंघले यस पटक त्यही क्याम्पस गुमायो । विद्यार्थी माझ लोकप्रिय छवि बनाएका इकाई सभापति विज्ञान लिम्बुले टिकट पाउन सकेनन् । इकाई समिति र पूर्व स्ववियु सभापतिले लिम्बुलाई उम्मेदवार बनाउँदा विजयी हुने आधार प्रस्तुत गर्दा स्थानीय नेताहरूले अस्वीकार गरे । फरक गुटको आरोप खेपेका लिम्बुले उम्मेदवार बन्न पाएनन् । नेविसंघको तर्फबाट उम्मेदवार बनेका मार्सल तामाङ पराजित भए । उनी सँगै उनको टिमका एक जना सदस्य बाहेक कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । 
अखिल क्रान्तिकारी र राप्रविसं सँग गठबन्धन गरेको नेविसंघले अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियन सँग सभापतिमा २ मतको अन्तरले हार बेहोरेको हो । नेविसंघले सदस्यमा नमस धामी मात्र विजयी भएका छन् । सप्तकोसी क्याम्पसमा नेविसंघ पूर्व जिल्ला उपसभापति रमेश काफ्लेको बलियो प्रभाव छ ।  
सुनसरीका ७ मध्ये ६ क्याम्पसमा भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार नेपाल विद्यार्थी सङ्घ (काँग्रेस)ले, समाजवादी विद्यार्थी युनियन (जसपा) र अनेरास्ववियु (एमाले) ले एक एक क्याम्पसमा विजय हासिल गरेका छन् । पिण्डेश्वर विद्यापीठमा भने अनेरास्ववियुले अध्यक्ष पाउने गरी यसअघिकै सहमति भएको छ । सुनसरीका अन्य ३ क्याम्पसको नजिता आउन बाँकी छ ।