धरान : नेकपा एमालेको जनवर्गिय सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाज धरान उपमहानगर कमिटीको प्रथम सम्मेलनले कृतमान दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
एमाले धरान नगर कमिटीको कार्यालय स्थित सभा हलमा भएको सम्मेलनमा सम्पूर्ण सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् । सम्मेलनले नयाँ कार्यसमितिको उपाध्यक्षमा राजु हिङमाङ, लक्ष्मी लकान्द्रीलाई निर्वाचित गरेको छ । त्यसै गरी सचिवमा रोशन कुमार विश्वकर्मा, उपसचिवमा सुष्मा मंग्राती, उत्तम सुनार र कोषाध्यक्षमा यशोदा घिमिरे निर्वाचित भएका छन् ।
समितिको सदस्यहरूमा भालुमान विश्वकर्मा, मीन कुमार सुनाम, रिना दास, चन्द्रकला विक, पुष्पा विक, धनसरा दर्नाल, मञ्जु त्रिखत्री, डम्बर विश्वकर्मा, धनकुमारी शङ्कर, रुपा विक लगायत रहेका छन् । कार्यसमितिको पहिलो बैठकले थप सदस्यमा महिला, युवा र विद्यार्थीहरूलाई मनोनयन गर्ने जनाएको छ ।
नेकपा एमाले लेखा समितिका सदस्य डिबी शाह शङ्करको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा मुक्ति समाजका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्लाका नेताहरूको उपस्थिति रहेको थियो । त्यसै गरी पार्टीका प्रदेश सदस्य, जिल्ला तथा नगरका पदाधिकारीहरूले शुभकामना दिएका थिए । समाजको सम्मेलन आयोजक समितिका संयोजक तथा केन्द्रीय सदस्य लीला शङ्करको सभापतित्वमा भएको प्रथम नगर सम्मेलनको अवसरमा समाजले दलित मुक्ति आन्दोलनमा अनवरत रूपमा योगदान दिनुहुने ३ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा लाल बहादुर सुन्चौरी, बिनुमान मोते र गोपाल मंग्राती रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य तथा सुनसरी क्षेत्र नम्बर १ का संयोजक मीन कुमार सुब्बा, जिल्ला सदस्य तथा मुक्ति समाज इन्चार्ज केदार बराइली, एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजङ एभेङ, मुक्ति समाज जिल्ला अध्यक्ष दिनेश रसाइली, केन्द्रीय सदस्य पार्वता बराइली, सावित्री परियार लगायतले शुभकामना दिएका थिए ।