धरान : शेयर खरिद विक्री सम्बन्धी सेवा प्रदान गर्दै आएको एबीसी सेक्युरिटीज प्रालिले धनकुटामा शनिवार एक दिने शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
एबीसी से्क्युरिटीजले सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व वित्तीय सप्ताह २०२३ को सन्दर्भमा लगानीकर्ताहरूको शेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै लगानीलाई सुरक्षित बनाउने उद्देश्यका साथ ‘सचेतनामूलक कार्यक्रम’ आयोजना भएको धरान शाखा प्रमुख योगेश अग्रवालले बताए ।
उक्त सचेतना कार्यक्रमका प्रमुख प्रशिक्षक तथा एबिसी सेक्युरिटीजका कार्यकारी अध्यक्ष नितेश अग्रवालले नेपालको शेयर बजार र बजार चक्रको मनोविज्ञानका विषयमा बृहत् जानकारी दिएका थिए ।
पहिलो सेसनमा शेयर बजारका नियामक निकाय,बजारका प्रकार, बजार सञ्चालनका विविध पक्षमा चर्चा गरेका अग्रवालले शेयर बजार प्रवेश कसरी गर्ने र किनबेचका प्रक्रियाका विषयमा समेत जानकारी दिएका थिए । उनले दोस्रो सेसनमा भने शेयर बजारको चक्रमा लगानीकर्ताको मनोविज्ञानका विभिन्न पक्षहरूका विषयमा समेत विश्लेषण गरे ।
स्मार्ट इन्भेष्टर हुन सके दोस्रो बजारमा मनग्यै कमाउन सकिने दाबी गर्दै अग्रवालले अर्को बुलका लागि तयार रहन समेत शेयर लगानीकर्ताहरूलाई आग्रह गरे ।
यसैगरी सोही कार्यक्रममा अर्थबिट डटकमका सञ्चालक तथा सम्पादक भक्तराज रसाइलीले लगानीकर्ताहरूले विविध विषयमा चनाखो भई स्वअध्ययन गरी शेयर बजारमा लगानी गर्नुपर्नेमा जोड दिए । लगानीकर्ता स्वयंले आफैँलाई मूल्याङ्कन गरी स्पष्ट उद्देश्य र योजनामा आधारित शेयर बजारमा लगानी गरेमा सफल हुन सकिने उनको भनाइ छ।
कार्यक्रमको समापन गर्दै एबिसी सेक्यरिटीज धरान शाखा प्रमुख योगेश अग्रवालले धरानमै रहेर पनि धनकुटावासीलाई ब्रोकरेज सम्बन्धी जुनसुकै सेवा सहज ढङ्गले प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे ।
उक्त कार्यक्रममा ८० जनाको उपस्थिति रहेको थियो । एबिसी सेक्युरिटिज प्रालि ब्रोकर नं १७, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई २०५४ साउन १० गतेबाट शेयर कारोबार गर्दै आएको संस्था हो ।
काठमाण्डौको इन्द्र चोकमा केन्द्रीय कार्यालय रहेको यस एबिसी सेक्युरिटीज प्रालिले केन्द्रीय कार्यालय सहित हाल धरान शाखाबाट पनि ब्रोकर कार्यालयले प्रदान गर्न सक्ने सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ ।