विराटनगर : विराटनगर-९ मा अवस्थित सोम्स कलेज र चौधरी ग्रुप (सिजी कम्युनिकेसन) बिच एम ओ यु भएको छ ।
सोम्स कलेज त्रिभुवन विश्व विद्यालय अन्तरगत व्यवस्थापन सङ्कायमा स्नातक तह बि.बि.एस. र युके बेष्ट एसिसिए प्रोग्राममा गुणस्तरीय शिक्षा प्रदान गर्ने एक अब्बल कलेजका रूपमा परिचित छ । सिजी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यापार प्रवर्धन गर्ने एक अग्रणी व्यवसायी कम्पनी हो । एसिसिए विश्वव्यापी सिएका रूपमा १८० देशहरूमा कार्य गर्ने प्रोफेसनल डिग्री हो । काठमाडौँ बाहिर आधिकारिक रूपमा एसिसिए अध्यापन गराइने सोम्स एक मात्र कलेज हो ।
आजको विश्व बजारको आवश्यकता, विश्व व्यापार सुधार, विकास र प्रवर्धनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनका लागि यो सम्झौता गरिएको हो ।
सम्झौतामा कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता पुरा गर्ने सिपयुक्त जनशक्ति तयार गर्ने र सिजीले उत्पादित जनशक्तिलाई व्यावहारिक ज्ञान, सीप क्षमता, कार्यकुशलता अभिबृद्घि गर्नुका साथै व्यवस्थापनमा सामान्जस्य गर्ने उल्लेख छ ।
सम्झौतामा हस्ताक्षर गर्दै कलेज सञ्चालक तथा डाइरेक्टर रोशन घिमिरेले सोम्स कलेजमा अध्ययनरत बिधार्थीहरुको व्यक्तित्व विकास, सिपगत निखरताका साथै स्वरोजगार प्राप्त गर्ने विषयमा यस सम्झौताले एक इँटा थप भएको बताए ।
सिजी जस्तै अन्य व्यवसायी कम्पनीहरू सँग गरिएका सम्झौता र कार्यगत एकताले विद्यार्थीहरूले अझ बढी अवसर प्राप्त गर्ने विश्वास डाइरेक्टर घिमिरेको छ । बेरोजगारी समस्या बढ्दै जाँदा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री झैँ भएका बेला ४ बर्से स्नातक तहमै स्वरोजगार बनाउने आफ्नो र कलेजको प्रयासमा सफल हुने घिमिरेको दाबी छ ।
सिजीका तर्फबाट हस्ताक्षर गर्दै एचआर प्रह्लाद मिश्रले व्यवसायी क्षेत्रमा आवश्यक जनशक्तिको माग पुरा गर्न विराटनगरको सोम्स कलेजले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।