• रश्मि प्रधान
धरान : केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा छात्रहरूका लागि नयाँ छात्रावास भवन बनेको छ । ३ करोड १७ लाख रुपया लागतमा निर्मित भवनमा ६५ छात्रहरू बस्ने व्यवस्था छ । क्याम्पसको स्वर्ण जयन्तीको अवसरमा बुधवार भवनको उद्घाटन हुँदैछ ।
यसअघि क्याम्पसमा छात्राहरुका लागि मात्र छात्रावास थियो । २०७३ सालमा निर्माण भएको उक्त छात्रावासमा ५० जना छात्राहरूको लागि बस्ने व्यवस्था छ । क्याम्पसमा हाल विद्यार्थी भने करिब १ हजारको सङ्ख्यामा छन् ।
स्वर्ण जयन्तीकै अवसरमा क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुको परिवारको लगानीमा निर्मित घण्टाघरको पनि उद्घाटन हुँदैछ । ३२ लाख रुपयाको लागतमा निर्माण गरिएको ‘हिम-टिका क्लक टावर’ क्याम्पस प्रमुख लिम्बुको परिवारले माता, पिताको स्मृतिमा निर्माण गरिएको हो ।  
केन्द्रीय प्रविधि क्याम्पस खाद्य प्रविधिमा पिएचडी सम्मको अध्ययन अध्यापन हुने नेपालको पहिलो क्याम्पस हो । क्याम्पस स्थापनाको ५० औँ वर्ष पुरा भएको अवसरमा बुधवार स्वर्ण जयन्ती समारोह आयोजना गरिएको छ ।
स्वर्ण जयन्तीको पूर्व सन्ध्या मंगलबार पत्रकार सम्मेलन आयोजना गरी क्याम्पसले उक्त जानकारी दिएको हो । क्याम्पस २०३० सालमा स्थापना भएको थियो । सहायक क्याम्पस प्रमुख वबिता अधिकारीले भनिन् ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालकै उत्कृष्ट शैक्षिक गन्तव्य मानिएको छ ।’
क्याम्पसमा सुक्ष्म जीव विज्ञान, पोषण तथा आधार विज्ञान, भौतिक शास्त्र, प्राणी शास्त्र, वनस्पति शास्त्र, तथ्याङ्क शास्त्र, रसायन शास्त्र, भुगर्व शास्त्र, सूचना प्रविधि, कम्प्युटर विज्ञान लगायतका विषयहरूमा स्नातक, सुक्ष्म जीव विज्ञानमा स्नातकोत्तर र खाद्य विज्ञानमा पिएचडि सम्मको अध्ययन अध्यापन हुँदै आएको छ ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानको केन्द्रीय क्याम्पसको रूपमा सञ्चालन हुँदै आएको क्याम्पस पछिल्लो समय स्वायत्त क्याम्पसको रूपमा सञ्चालन हुँदै आएको छ ।
hatttisar-clock-tower