वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की सङ्घीय सरकार र निकायहरूसँग विकासको योजनाकालागी बजेट उपलब्ध गराउन माग गर्दै काठमाडौँका मन्त्रालय र विभागमा दौडधुप गर्दैछन।
नगरपालिकाको आन्तरिक साधन र स्रोतले मात्र नगरवासीको आवश्यकता र विकाशका योजनाहरू सञ्चालन गर्ने नसकिने भएकाले मेयर कार्की माथिल्लो तहको सरकारसँग सहकार्यकालागी सक्रिय देखिएका हुन् ।
हाल सङ्घीय राजधानी काठमाडौँ पुगेका मेयर कार्की सङ्घीय विभागीय मन्त्री, सङ्घीय प्रतिनिधि सभा सदस्य तथा विभिन्न विभागमा योजनाका लागी बजेट उपलब्ध गराउने कार्यमा लागिपरेका छन् ।
कोसी कट्टान नियन्त्रण, सडक पूर्वाधार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मोबाइल नेटवर्क, कोसीमा झोलुङ्गे पुल, कुम्भ मेलाको आयोजना लगायत सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न योजना सहित बजेटका लागि सङ्घीय राजधानी काठमाडौँ पुगेको मेयर कार्कीले बताए ।
मेयर कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, सहरी विकाश मन्त्री सीता गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई, प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेर वराहक्षेत्रलाई विशेष प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
नगर प्रमुख कार्कीले योजनाको विषयमा नेपाल सरकार सस्पेन्सन ब्रिज डिभिजन योजना प्रमुख सहसचिव शम्भु कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराई, राष्ट्रिय योजना आयोगका  सहसचिव राजेन्द्र प्रसाद पौडेल तथा कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।