धरान : धरान उपमहानगरपालिका स्थानिय सरकार प्रमुख हर्क सम्पाङ माथिल्लो तहको सरकारसँग सहकार्य गर्ने बाटोमा लागेका छन् । यसअघि उनले स्थानिय सरकारको स्वीकृति बिना धरानमा प्रदेश र सङ्घीय सरकारका योजना लागुगर्न नदिने बताउँदै आएका थिए ।

मेयर साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा सहितको स्थानिय सरकारको प्रतिनिधि मण्डल सङ्घीय राजधानी काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल सँग भेट गरेको तस्बिरहरू अहिले फेसबुकमा भाइरल भएको छ ।

प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई धरानको विकासका योजनाहरूमा सङ्घीय सरकारको सहकार्यको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । प्रधानमन्त्री दाहाल सँगको भेटमा धरानको खानेपानी योजनाको बारेमा विशेष कुराकानी भएको उपमेयर बेघाले फोनमा ‘कपुरी’लाई बताए ।

उनका अनुसार अहिले अभियानको रूपमा चलिरहेको खानेपानीको वैकल्पिक अभियानको डिपिआर तयार गर्न पनि सङ्घीय सरकार सँग आग्रह गरिएको छ । प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै उनले ‘धरानको खानेपानीको समस्याका बारेमा आफूले बोलेको कुरा पुरा गर्ने’ बचन दिएको बताए ।

हिजै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ सँग भेट गरी प्रतिनिधि मण्डलले खानेपानी योजनाको डिपिआरका विषयमा छलफल गरेको बेघाले बताए । उपमेयरका सहयोगी खेम रनपहेलीले ‘कपुरी’लाई उपलब्ध गराएको ज्ञापनपत्रहरु थुप्रै छन् ।

प्रतिनिधि मण्डलले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकाश मन्त्रालय लगायत विकाशसँग सम्बन्धी मन्त्रालयहरूमा धरानको विकाश निर्माणका योजनाहरूमा बजेट माग गर्दै ज्ञापनपत्र बुझाउँने, मेयर हर्क सम्पाङको हस्ताक्षरमा पेस गरिने पत्रहरूमा अनुमानित बजेट सहितका ३ दर्जन जति योजना, मर्मत कार्यहरूका सूचि छन् ।

स्थानिय सरकार प्रमुख साम्पाङको सङ्घीय राजधानीमा मन्त्रालयहरूमा बजेट माग गर्ने दोस्रो भ्रमण हो । यसअघि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्व कालमा पनि उनी प्रमण्डल सहित काठमान्डु पुगेका थिए । सरकारसँग योजना बजेट माग गरे पनि त्यसलाई नपर्खी खानेपानीको वैकल्पिक काम भने उनले बेग्लै अभियानका रूपमा चलाउँदै आएका छन् ।

यसबिच उनले प्रदेश र सङ्घीय सरकारका योजना बजेट स्थानिय सकारको स्वीकृति बिना लागुगर्न नदिने अडान दोहोर्याउदै आएका थिए । बन मन्त्रालयको धरान तीनकुनेमा निर्माणाधीन प्रदेश कार्यालय मेयरकै विरोधका कारण ठेकेदारले काम रोकेका छन् ।

प्रदेश सरकारका खानेपानी मन्त्री तिलकुमार मेयाङबोलाई सार्वजनिक कार्यक्रमकै बिच मेयर साम्पाङले स्थानिय सरकारको इजाजत बिना प्रदेश सरकारको योजना आफै कार्यान्वयन गर्न नपाउने कुरा कडा रूपमा राखेका थिए ।

हालै मात्र सिचाई मन्त्रालयको जिल्ला सिचाई कार्यालयबाट बाढी रोक्न तार जाली ल्याउने सिफारिस माग्न जाँदा धरान-११ का सन्तोष लिम्बुलाई मेयर साम्पाङले प्रहरी बोलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए ।

माथिल्लो तहका सरकारको बजेट, योजना श्रोत, साधनको उपयोगको बारेमा खरो उत्रिएका मेयर साम्पाङबाट यसपालि सङ्घीय सरकारलाई ज्ञापनपत्र मार्फत योजनामा बजेट माग गरिएकाले उनी माथिल्लो तहका सकारसँग सहकार्य गर्ने बाटोमा लागेको अर्थमा बुझिएको छ ।

यसअघि उपमेयर बेघाले एक कार्यक्रममा मेयर साम्पाङको नाम नलिई धरान उपमहानगरपालिका भित्र नीति निर्माणको भूमिका गर्न निकै अप्ठ्यारो भएको बताएका बताएका थिए । उनले ‘एक जनाको सोच बिचारले मात्र अघि बढ्न सम्भव छैन, जोडिएर अगाडी बढ्न जरुरी भएको विधि र पद्धति प्रक्रियालाई आत्मसात् गर्नुपर्ने बताएका थिए ।

यसैबिच मेयर र वडाध्यक्षहरू बिचको विवाद सार्वजनिक गर्न आयोजित सभामा राजनीतिक दलहरूले मेयर साम्पाङलाई सच्चिएर सबै पक्षसँग सहकार्य गर्न आग्रह गरेका थिए । यी पूर्व परिदृष्यहरुका बिच मेयर साम्पाङको उपमेयर सहित काठमान्डु यात्रा सुधारको सङ्केत भएको आकलन गर्न पनि सकिन्छ ।

मेयर हर्क साम्पाङ नेतृत्वको प्रतिनिधि मण्डलले विभिन्न मन्त्रालयहरूमा धरानको विकाश निर्माणका योजनाहरूमा बजेट माग गर्दै बुझाइका ज्ञापनपत्रहरु :