धरान : कोशी प्रदेश नामाङ्कन खारेजी पुनः नामकरण आन्दोलनकारीले खोटाङमा आज शनिवार कोशी प्रदेश सभाका सांसद पाँचकर्ण राई पिकेलाई कालो झण्डा देखाउँदा पाँच जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला समान्वय समितिको बैठकमा सहभागी सांसद राईलाई कोशी प्रदेश नामाङ्कनमा मतदान गरेकोमा नाराबाजी गर्दै प्रदर्शनकारीहरुले कालो झण्डा देखाएका थिए । बैठक चलिरहेकै बेला सभाहलमा उनलाई झण्डा प्रदर्शन गरिएको हो ।

लगत्तै प्रहरीले पाँच जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा किरात राई यायोक्खा खोटाङ जिल्ला अध्यक्ष युगसन किराती, सह-कोषाध्यक्ष डार्बिन चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका पूर्व उपाध्यक्ष सप्तमणि राई, जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल राई र धनीराम राई रहेको संयुक्त सङ्घर्ष समितिले जनाएको छ । 

यायोक्खा अध्यक्ष किरात बाहेक अन्यलाई प्रहरीले पक्राउ गरी हतकडी लगाएर लगेका थिए । उक्त घट्नाको घोर भर्त्सना गर्दै संयुक्त सङ्घर्ष समिति अध्यक्ष मण्डलका सदस्य चुम्लुङ केन्द्रीय अध्यक्षले पक्राउ गरिएका सबै नेताहरूलाई विना सर्त सम्मानपूर्वक तुरुन्त रिहाइको माग गरेका छन् ।

सामाजिक सञ्जालमा प्रहरीले आन्दोलनलाई थप उत्तेजित पार्न आन्दोलनकारीलाई चुनौती दिएको घट्नाको रूपमा लिएको उल्लेख गर्दै उनले लेखेका छन ‘शान्तिपूर्ण विरोध कार्यक्रममा सहभागी नेताहरूलाई विना सर्त सम्मानपूर्वक तुरुन्त रिहाइ गर्न माग गर्दछु ।’