विराटनगर : विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । 
गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।
ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउण्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रणका विषयमा छलफल गरेको थियो ।
छलफलमा सरोकारवालाहरूले डिजे र सवारीको प्रेसर हर्न बजाउन निषेध गर्नुपर्ने सुझाव दिएका थिए । 
विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एक मात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको मेयर कोइरालाले बताए ।
उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई  पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाए । पार्किङ स्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने मेयरको भनाइ छ । 
उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् । “विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रूपमा स्थापित गर्नुपर्छ,” मेयर कोइरालाले भने, “सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ । महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु ।”