विराटनगर : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् ।
नेपाली काँग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे ।
'म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ भन्न चाहन्न,” उनले थपे, “देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिक लगायत कुनै पनि क्षेत्र सही तरिकाले हिँड्न सकेको छैन ।'
नेता कोइरालाले नेपाल आर्थिक रूपमा श्रीलङ्का र पाकिस्तान नहुने दाबी गरे । श्रीलङ्का र पाकिस्तानसित नेपालको तुलना नहुने उल्लेख गर्दै उनले सुधार्न सकिने बताए ।
“तपाईँहरू आजैबाट नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्,” उनले भने, 'श्रीलङ्का र नेपालको परिस्थिति र अवस्था बेग्लै छ । हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ । त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन ।तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ ।'
कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । काँग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले काँग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोसी प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्यालले काँग्रेस सहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको औँल्याए ।
उनले आगामी उपनिर्वाचनमा मूलधारका पार्टी पराजित भए देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उब्जिने उल्लेख गरे । “वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदै छ, ती क्षेत्रमा विशेष गरी काँग्रेस सहित मूलधारका पार्टी जितेनन् भने आगामी अन्य निर्वाचन निकै गाह्रो पर्ने देख्दै छु,” अर्यालले भने, “मूलधारका पार्टीले आफ्नो कार्यशैली र विचारमा परिवर्तन गर्नु आवश्यक छ ।”
सो अवसरमा पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी, कोसी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका कोसी प्रदेश इन्चार्ज कविराज घिमिरे, नेपाली काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, महासमिति सदस्य गयानन्द मण्डल, महाधिवेशन प्रतिनिधि सीता कार्की, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईँ, नेविसंघका मोरङ सभापति सरोज पोखरेल लगायतका नेताले ठुला पार्टीहरूमा शुद्धीकरण आवश्यक रहेको बताएका थिए ।