चतरा : अहिले सामाजिक सञ्जालमा पत्रकार भीषण राईको ‘नानो खबर’को एउटा भिडियो भाइरल भइरहेको छ । त्यसमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कोकाहा खोलाबाट धरान खानेपानी ल्याउने अभियानका बिच वराहक्षेत्र वडा १ चावचाका स्थानीयवासीले उनीहरूलाई पनि खानेपानी नदिएर योजना अघि बढ्न नदिने कुरा बताएका छन् ।

धरानवासीका लागि कोकाहाबाट खानेपानी ल्याउने मेयर साम्पाङको अभियानमा चावचाबासीको आपत्ति ‘खाँदै गरेको गाँसमा ढुङ्गा’ परेको जस्तो भएको छ । यसलाई चावचाबासीहरु सँग सहकार्य गरेर समाधान गर्न जरुरी भएको उनीहरूले बताएका छन् ।

भिडियोमा स्थानीयवासी नारायण दहालले शनिवार एक्कासि मेयर हर्क साम्पाङको नेतृत्वमा पाइपहरू लिएर हजारौं मानिस आउँदा मात्र चावचाबासीलाई कोकाहाबाट धरान खानेपानी पानी लैजान लागेको थाहा भएको बताएका छन् ।

अर्का स्थानीयवासी बुद्धराज भण्डारीले उक्त योजना बनाउँदा जुन बाटो हुँदै पानी लैजाने हो त्यहाँ जग्गा जमिन बसोबास भएको स्थानीयवासी सँग सहकार्य गरिनु पर्थ्यो भनेका छन् । तर योजनाका बारेमा चावचाका स्थानीयवासी वराहक्षेत्र नगरपालिका, वडा कार्यालय कसैसँग पनि सहकार्य भएको छैन ।

यसरी योजना अघि बढाउनु चावचाबासीलाई हेपेको जस्तो भएको उनको गुनासो छ । मेयर हर्क साम्पाङ सँग यो कुरा राखेको उनले बताएका छन् । चावचाबासीले पनि पानी खान नपाएको अवस्थामा कमसेकम एउटा धारा गाउँलाई दिनुपर्ने र पाइप लगाउँदा जमिन प्रयोग भएको क्षतिपूर्ति दिनुपर्ने माग गरिएको दहालले बताएका छन् ।

तर मेयर साम्पाङले खानेपानी दिन नमिल्ने, क्षतिपूर्ति दिने विषयमा विचार गर्न सकिने बताएकाले स्थानीयवासी असन्तुष्ट भएको उनको भनाई छ । भिडियोमा अर्का स्थानीयवासी तोया दहालले मिटर लगाएरै भए पनि धारा दिनुपर्ने माग गर्दा पनि अस्वीकार गरेका हुँदा यहाँबाट लैजाने पानी फुटाएरै भए पनि खाने बताएका छन् ।   

पत्रकार भीषण राईले चावचामा पनि खानेपानीको समस्या भएकोले त्यहीँबाट धरान खानेपानी लैजाँदा उनीहरू भने काकाकुल भएर बस्नुपर्ने अवस्थाका कारण आन्दोलित भएको रिपोर्टिङ गरेका छन् ।

हेर्नुहोस् पत्रकार भीषण राईले स्थलगत रूपमा तयार पारेको भिडियो रिपोर्ट :