धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाहा खोलाको पानी धरान ल्याउन चलाएको अभियानको लागि कार्यपालिकाको संस्थागत निर्णय र दुई नगरपालिका बिच सम्झौता हुनुपर्ने सर्त बराहक्षेत्र नगरपालिकाले अघि सारेको छ ।

वराहक्षेत्रले आज मङ्गलवार धरान उपमहानगरपालिकालाई पत्राचार गर्दै उक्त जानकारी दिएको हो । पत्रमा बराहक्षेत्र नगरपालिकाको वैशाख ११ गते बसेको कार्यपालिका बैठकबाट धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय सँग कोकाहाबाट खानेपानी धरान लैजाने संस्थागत निर्णय माग गर्ने निर्णय भएको उल्लेख छ ।

उक्त निर्णयको आधारमा जिल्ला समन्वय समितिको कार्यालय सुनसरीको रोहबरमा बराहक्षेत्र नगरपालिका सँग सम्झौता गर्नु पर्ने निर्णय भएको हुँदा सो निर्णयको जानकारी गराउँदै आवश्यक वातावरण सिर्जना गराउन पत्रमा अनुरोध गरिएको छ ।

पत्रमा ‘बराहक्षेत्र वडा १ स्थित कोकाहा नदीको शिरबाट कोकाहा (कौशिकी संगमस्थल –बराहक्षेत्र) सम्मका नदी आसपासका स्थानीयवासी र सरोकारवाला निकायहरूसँग कुनै पनि छलफल नगरी धरान उपमहानगरपालिकाले खानेपानी प्रयोजनका लागि पानी लैजाने कार्य गरिरहेको भनी यस नगरपालिकामा व्यापक जनगुनासो आइरहेकोले’ कार्यपालिका बैठकले उक्त निर्णय गरेको उल्लेख छ।

BAraha-letter