धरान : मुलुकलाई प्रविधि र आविष्कारको क्षेत्रमा आत्मनिर्भर बनाउन सामाजिक जनआन्दोलनमा उत्रिएका वैज्ञानिक डा.महावीर पुनको समर्थनमा धरानका युवाहरूले आज साँझ एक घण्टा भानुचौकमा प्रदर्शन सहितको धर्ना दिएका छन्।
‘समृद्ध देशको मुख्य आधार: अनुसन्धान, नवप्रवर्तन आविष्कार’ नारा सहित सामाजिक आन्दोलनमा उत्रिएका महावीर पुनको सन्देशलाई युवा, विद्यार्थी, आम समुदाय सम्म पुर्याउन धरानमा युवा, विद्यार्थीहरूले स्वतःस्फूर्त प्रदर्शन सहितको धर्ना कार्यक्रम आयोजना गरेका हुन् ।
सुमन श्रेष्ठको संयोजनमा भएको धर्नामा धरान जेसीज, रिसर्च हब आइओई पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सामाजिक उत्तरदायित्वका लागि चिकित्सक, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार रिसर्च कमिटी, फिजिक्स विद्यार्थी एसोसिएसन, धरान मेघा हिमालयन कलेज, हाम्रो मोबाइल एसोसिएसनको ऐक्यबद्धता थियो ।
धर्नामा युवा विद्यार्थीले महावीर पुनको सामाजिक आन्दोलनले सरकारसँग राखेका मागहरू लेखिएका प्लेकार्डहरू हात हातमा लिएर प्रदर्शन गरेका थिए । त्यसमा अनुसन्धान र नवप्रवर्तनका लागि हरेक वर्ष १ प्रतिशत रकम छुट्याउ, स्टार्ट अपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउन माग गरिएका छन् ।
नव उद्यमीहरूलाई प्रोत्साहन गर, हतोत्साहित नगर, पुरानो गाडीहरूलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देऊ, यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स र प्लेट दिने व्यवस्था गर भनी गरिएको मागहरू प्लेकार्डमा लेखिएका थिए ।
धर्नाका बिच भएको कोणसभामा केन्द्रीय प्रविधि क्याम्पसका विद्यार्थी भीषण राई, स्वर्णिम श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पसका रबिन श्रेष्ठ, धरान जेसीज, अध्यक्ष आशिष राज यादवले महावीर पुन नेपाललाई विज्ञान र प्रविधिमा स्ववलम्बनको दिशा तर्फ अग्रसर गराउने उद्देश्यले आन्दोलनमा उत्रिएको बताए ।
ज्येष्ठ नागरिक मनमोहन पलिखेले मुनि बहादुर शाक्यले नेपालकै पहिलो कम्प्युटर आविष्कार गरे पनि उपेक्षाका सिकार भएको उल्लेख गर्दै महावीर पूनको अभियानलाई त्यस्तो अवस्थामा पुर्याउन दिन नहुने बताए । सभा सञ्चालन गर्दै संयोजक सुमन श्रेष्ठले नेपालको समृद्धिका लागि महावीर पुनको माग पुरा हुन जरुरी भएको बताए ।


































































