वराहक्षेत्र : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोकाह खोलाको पानी वराहक्षेत्र नगरपालिकाको भू-भाग प्रयोग गरेर धरान लैजाने विषयमा धरान संस्थागत निर्णय ल्याउन नसक्दा आज हुने भनिएको लिखित सम्झौता हुन सकेन ।
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा दुई पालिका बिच भएको बैठकमा वराहक्षेत्र नगरपालिकाले कोकाहको खोलाको पानी धरान लैजाने विषयमा धरान उपमहानगरपालिको संस्थागत निर्णय माग गरेको थियो ।
बैठकमा वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोकाह खोलाको पानी वराहक्षेत्र नगरपालिकाको भू-भाग प्रयोग गरी धरानवासीलाई पानी खुवाउने कार्य स्वागत योग्य भएको बताएका थिए ।
तर स्थानिय तह बिच कुनै पनि सहकार्य र समन्वय नगरेको हुँदा सो कार्यहरू सम्पन्न गर्नका लागि लिखित रूपमा दुई स्थानिय तहबिच सम्झौता गर्नु पर्ने मेयर कार्कीले बताएका थिए ।
कोकाह खोलाको खानेपानीको विषयमा खानेपानीको योजनाका लागि वातावरणीय अध्ययन प्रतिवेदन डिपिआर हुनुपर्ने, धरान उपमहानगरपालिकाको कार्यालयको र धरान स्थित खानेपानी बोर्डको संस्थागत निर्णय हुनु पर्ने, धरानले उक्त लगेको खानेपानी निःशुल्क वितरण गर्ने हो भने वराहक्षेत्र नगरलाई कुनै रोयल्टी दिनु नपर्ने तर श-शुल्क वितरण गर्ने हो भने कानुन रोयल्टी (कुल आम्दानीको) वराहक्षेत्र नगरलाई बुझाउनु  पर्ने माग वराहक्षेत्र नगरपालिकाले राखेको थियो ।
बैठकमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले हाल कार्यपालिकाको बैठक बस्न नसेको कारण निर्णय गराउन सकिने अवस्था नगरेको बताए । उनले खानेपानीको सम्बन्धी निर्णय गर्ने अधिकार कार्यपालिकाले मेयरलाई दिएकाले मेरो निर्णय नै संस्थागत हुने जिकिर समेत गरेका थिए । अन्य माग भने पूरा गर्न तयार रहेको साम्पाङको भनाई थियो ।
वराहक्षेत्र नगरपालिकाले सम्झौताका लागि वार्ता समिति गठन गरेर सहमतिको खाका समेत तयार गरेको थियो । तर धरान उपमहानगरपालिकाले कार्यपालिकाको निर्णय र वार्ता समिति समेत गठन गर्न नसकेपछि सम्झौता हुन नसकेको वराहक्षेत्रका मेयर कार्कीले बताए ।
धरानको तर्फबाट मेयर हर्कराज साम्पाङ, उपमेयर आइन्द्र विक्रम बेघा लगाएको टोली छलफलमा थियो भने वराहक्षेत्रबाट मेयर कार्की सहित उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला सहित वार्ता टोलीका संयोजक एवम् वडा नं. १ का अध्यक्ष किशन मगर, वडा नं.२ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं. ७ का अध्यक्ष कपिल आचार्य लगाएको उपस्थिति रहेको थियो।
मङ्गलवार भएको वार्तामा सहमति नजुटेको बुँदामा दुवै पालिकासँग छलफल गरी सहमतिको प्रयास खोजिने जिल्ला समन्वय समिति सुनसरीका सभापति मेहताले बताए ।
धरान उपमहानगरको कार्यपालिका बैठक बसाएर खानेपानीको विषयमा निर्णय गर्न प्रयास समेत गरिने जिल्ला समन्वय सुनसरीका सभापति मेहताले बताए ।
जिल्ला सभापति मेहतालाई कार्यपालिका सदस्यहरूले बहिस्कार गर्दै आएकाले बैठकलाई सहजीकरण गरिँदिन धरानमा मेयर तथा उपमेयरले आग्रह समेत गरेका थिए ।