सुनसरी : पूर्वाञ्चल विश्वविद्यालयमा सुविधा सम्पन्न सभाहल बन्ने भएको छ । विश्वविद्यालय परिसरमा बन्न लागेको सात सय ५० सिट क्षमताको सभाहल सँगै बैङ्किङ कारोबारलाई सहज बनाउन नबिल बैङ्कको शाखा कार्यालयको पनि शिलान्यास गरिएको छ । 
नबिल बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सभाकक्ष बनाइदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सह-कुलपति अशोक राई र नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरूलाई बढी राजनीतिकरण गरिएको बताएका छन् । राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए ।
विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको मन्त्री राईको भनाई छ । अन्य देशमा राजनीतिक व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने जानकारी दिए ।
आफू मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रका सरोकारबालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उनले बताए । अहिले पनि शिक्षा क्षेत्र सुधारका लागि कतिपय ऐन कानुन बन्न नसकेकाले आउँदो अधिवेशनमा रोकिएका ऐनलाई पेस गर्ने मन्त्री राईले जानकारी दिए ।
विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीसँगको छलफलमा धेरै विश्वविद्यालयमा समस्याको चाङ रहेको तर पूर्वाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले समस्या भन्दा पनि धेरै उपलब्धि हासिल गरेको आफूले पाएको उनले बताए । विश्वविद्यालयहरूले सधैँ अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्ने चेष्टा गर्नुपर्ने मन्त्री राईको सुझाव छ । उच्च शिक्षाको लागि बिदेसिने प्रवृत्तिको अन्त्य गर्न विदेश उत्तम स्वदेश खत्तम भन्ने सोचलाई बदल्न विश्वविद्यालयहरूले समय सापेक्ष गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।
२३ वर्ष देखी शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउँदै बाल कक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको मन्त्री राईले बताए । 
विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवराज कोइराला र रजिष्टार नीलमणि पोखरेलले चिकित्सा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमति पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्ने भएकाले उपलब्ध गराइदिन आग्रह गरे । 
आगामी शैक्षिक सत्र देखी एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको उनीहरूको भनाई छ । लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमति कुरेर बसेको विश्वविद्यालयले यसैबर्ष मात्र अनुमति पाएको भन्दै सबैको साथ सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने पदाधिकारीहरूको भनाई छ ।