धरान : धरान बास्केटबल सङ्घको आयोजना सञ्चालित तीन हप्तादेखि आठौँ बास्केटबल प्रशिक्षण शिविर शनिवार सकिएको छ । वैशाख ९ गतेदेखि सुरु भएको ट्रेनिङ क्याम्पको समापनको अवसरमा धरान उपमहानगरपालिका उपमेयर आइन्द्रबिक्रम बेघाले धरानको समग्र खेलकुदको विकास एकीकृत ढङ्गले अघि बढाउन आगामी दिनमा समग्र खेल विकासको लागि न्यायोचित र एकीकृत ढङ्गले योजना बनाएर अघि बढ्नु पर्ने बताए । उनी कार्यक्रममा प्रमुख अतिथि थिए ।
२०७९ सालको एसइई दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरूलाई लक्षित गरी आयोजित प्रशिक्षण शिविरमा धरानका स्कुल, कलेजबाट ६० जना विद्यार्थीहरू सहभागी थिए । सहभागी प्रशिक्षार्थीलाई सभापति सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथि उप मेयर वेघा, विशेष अतिथि उपमहानगरपालिका सामाजिक विकास संयोजक सृजना नेपालले प्रमाणपत्र प्रदान गरे ।
समापनमा राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राईले प्रशिक्षणमा सहभागी उत्कृष्ट विद्यार्थीहरूलाई उनीहरूको इच्छा अनुसार धरानका कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने जानकारी दिए । कार्यक्रममा वडा १६ का अध्यक्ष मुरारी भट्टराई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषी राई लगायतको उपस्थिति थियो ।
हालसम्म ८ औँ प्रशिक्षण शिविर सम्म आइपुग्दा करिब एक हजार विद्यार्थी खेलाडीहरू प्रशिक्षित भएका छन् । धरानका विद्यालय, कलेजहरूमा एक सय भन्दा बढी खेलाडीहरूले निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका छन् । सहभागीहरूलाई प्रशिक्षक विकाश चाम्लिङ राई, प्रदेश १ बास्केटबल टिम क्याप्टेन विवेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा.आशा राई, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ, आस्था राई, तनु राई, शीतल तामाङ, एल््भना गुरुङ, समीर राई, चिरञ्जीवी गिरि लगायतले प्रशिक्षण दिएका थिए ।
सङ्घले विगत १२ वर्षदेखि प्रशिक्षण दिदैं आएको छ । राष्ट्रिय खेलाडी तथा १३ औँ सागको सिल्भर मेडल विजेता डा। आशा राई, हेमन्त राई, राष्ट्रिय खेलाडी बैभव योगी, रबी बास्फोर, तनु राई, शीतल तामाङ, लियालिसा श्रेष्ठ, विवेक श्रेष्ठ, कबिन मगर लगायत यही प्रशिक्षणबाट उत्पादन भएका खेलाडीहरू हुन । उनीहरू जिल्ला, प्रदेश र राष्ट्रिय टिमबाट खेलिरहनु भएको छ ।
शिविर धरान १६ स्थित धरान रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सञ्चालन भएको थियो ।


































































