धरान : एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै धरान बास्केटबल सङ्घले वैशाख ९ गते देखि बास्केटबल प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

सङ्घको यो आठौँ बास्केटबल प्रशिक्षण शिविर ट्यालेन्ट हन्ट हो । सङ्घले विगत वर्षहरूमा पनि प्रशिक्षण शिविर सञ्चालन गर्दै आएको थियो ।

सुनसरी जिल्ला बास्केटबल सङ्घ र धरान उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने शिविर ३ हप्ता चल्ने बताइएको छ ।

शिविरका उत्कृष्ट बिद्यार्थीहरुलाइ धरानका कलेजमा छात्रवृत्तिका लागि सङ्घले सिफारिस समेत गर्ने सङ्घका जिल्ला अध्यक्ष नारायण सुबेदीले जनाए ।

प्रशिक्षण शिविर धरान १६ धरान रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा हुनेछ । सहभागीहरूलाई राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र सहयोगीहरू प्रदेश बास्केटबल टिम कप्तान विवेक श्रेष्ठ, युगल लिम्बू, रोशन राई, राष्ट्रिय महिला खेलाडी डा.आशा राई प्रशिक्षण दिने बताइएको छ ।