काठमाडौँ : नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोले उनलाई काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौँले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार रायमाझी शनिवार काठमाडौँ आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरूले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौँले ४ दिन हिरासतमा राख्न आइतबार नै अनुमति दिएको छ ।