धरान : आफूले बोकेको नगद रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रहरीले विराटनगरमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-१५ का ४३ वर्षीय अनिल यादव छन् ।

नेपाली रुपया ४ लाख, ६२ हजार ५ सय लिएर भारतीय नम्बरप्लेटको मोटरसाइकलमा हिँडेका उनलाई हिजो आइतबार विराटनगर-११ पाञ्चाली मोडमा शङ्का लागि चेकजाँच गर्दा श्रोत बिनाको उक्त रकम बरामद भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर बिआर ३३जेड९७९६ को मोटरसाइकल र स्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।