इटहरी : इटहरीमा पहिलो पटक पाँच तारे होटेल "सोल्टी वेस्टेन्ड इटहरी" खुलेको छ । अर्थतन्त्र सङ्कटमा रहेको विश्लेषण आइरहेको बेला पूर्वी नेपालमा पहिलो पटक सोल्टीको सेवा सुरु भएको हो।

भूकम्प, नाकाबन्दी र कोरोना महामारी पछि शिथिल भएको पूर्वको बजारलाई ऊर्जा दिन सोल्टीले सेवा सुरु गरेको बताइएको छ । इटहरीको धरान लाइनमा अवस्थित होटेल गरिमा होटेल प्राइभेट लिमिटेडको स्वामित्वमा सञ्चालन भएको हो ।

मङलबार पत्रकार सम्मेलन गर्दै बुधवार होटेलको औपचारिक उद्घाटन गर्न लागिएको जानकारी गराइएको हो । २०७२ सालदेखि गरिमाको नाममा निर्माण सुरु भएको होटेललाई नेपालकै पुरानो पाँचतारे होटेल सोल्टीले व्यवस्थापनको जिम्मा लिएको छ ।

गरिमा होटेल प्रालिका अध्यक्ष भीम बहादुर पौडेलले इटहरीको व्यावसायिक र आर्थिक गतिविधि विकासमा होटेलको महत्त्वपूर्ण भूमिका रहने बताए । पौडेलका अनुसार २ अर्ब हाराहारीमा लगानी भएको र दुई सय जनाले रोजगारी पाउने भएका छन् ।

सोल्टी होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले इटहरीले अब अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजर पाएको बताए । सोल्टीको ६५ वर्ष लामो हस्पिटालिटीको अनुभवले व्यवस्थापनमा कुनै कमी हुन नदिने बाचा गरे ।

होटेलमा ८० वटा रुम, स्वीमिङपुल, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टर लगायतका सुविधा उपलब्ध छ ।

होटेलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ। कोसी प्रदेशको तेस्रो पाँचतारे होटेलको रूपमा रहेको सोल्टीले विदेशी पर्यटकलाई केन्द्रित गरेको छ ।

soltee-itahari-openingsoltee-4