धरान : नेपाली काँग्रेसका युवा नेता राजेशमान श्रेष्ठ पार्टी परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको धरान नगर संयोजक बनेका छन् । काँग्रेसका अर्को युवा नेता सागर प्रसाई पनि सोही पार्टीमा जाने काँग्रेस वृत्तमा चर्चा चलेको छ ।

आज बिहान फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको सांसद उम्मेदवार सरिन तामाङको वालमा उक्त पार्टीको धरान नगर तदर्थ समिति गठन भएको जानकारी दिइएको छ । राजेशमानले उक्त कुराको पुष्टि गर्दै भने ‘मैले काँग्रेस छाडेको हो, तपाईँले पाउनु भएको खबर साँचो हो ।’

उनले हिजै मात्र नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टीलाई राजीनामा बुझाएका थिए । काँग्रेसमा सबै भन्दा धेरै पीडित आफू भएको बताउँदै राजेशमानले भने ‘काँग्रेसले मलाई कहिल्यै कुनै अवसर दिएन, पाखा लगाउने काम गर्‍यो ।’

पाटीको धरानमा बढेको गुटबन्दी, विकृती, विसंगती बारे बोल्दा गद्दार समेत भनेको उनले बताए । उनले भने ‘धरानको लागि राम्रो काम गर्न पार्टीबाट भूमिका मिल्ने आशा गरेको थिएँ तर दुईचार जनाको गुटका लागि ताली पडकाउने काम भन्दा नयाँ अवसरका लागि पार्टी छाडेका हुन् ।’

नयाँ पार्टीमा प्रवेश नभइहाले तापनि नेविसंघ देखी राजनीति सुरु गरेका युवा सागर प्रसाईले पनि आफू स्वतन्त्र भएको बताएका छन् । उनले भने ‘स्वतन्त्र पार्टीमा आउन मलाई आग्रह गरिएको छ, तर प्रवेश गरेको छुइन् ।’

काँग्रेसको सुनसरी-१ क्षेत्रीय समिति कोषाध्यक्ष, क्षेत्रीय प्रतिनिधि रहिसकेका प्रसाईले भने ‘अब काँग्रेसको सदस्यता नवीकरण गर्दिन स्वतन्त्र रूपमा रहने छु र धरानको राजनीतिमा कुनै राम्रो भूमिका निर्वाह गर्नेछु ।’

धरान-९ का सक्रिय युवा निर्मल आचार्य पनि काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका छन् । यसैगरी माओवादीका सुमान श्रेष्ठ पनि उक्त पार्टीमा गएका छन् ।

उक्त पार्टीका नवनियुक्त धरान नगर संयोजक राजेशमान श्रेष्ठ अनुसार हिजो भएको भेलाले आफुलाई संयोजक चयन गरेको हो । २०/२५ जनाको भेलाले छलफल गरी सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा सबिता लिम्बुलाई चयन गरी अरू सदस्य रहने गरी तदर्थ समिति गठन भएको छ ।

हिजो भएको भेलाले तदर्थ समितिले जेठ १९ गते भित्र नयाँ सदस्यता वितरण गरी आउँदो मङ्सिरमा पार्टीका अधिवेशन गर्ने निर्णय गरेको छ ।