इटहरी : नेपाली काँग्रेस इटहरी उपमहानगर सम्मेलनमा नेताहरूले गुटबन्दीको अन्त्य गर्ने र मिलेर जाने धारणा राखे । तर कार्यक्रमको सुरुमै प्रदेश सदस्य सूर्य राई र महाधिवेशन प्रतिनिधि विकाश केसी बिच विवाद भयो । राईले बोल्न पाउनुपर्ने अडान राखेपछि आफूहरूले मिलाएर दिने उपमहानगर सचिव मन्दीप भट्टराईले जवाफ दिए । जसरी पनि बोल्न पाउनुपर्ने राईको अडान पछि केसीले हस्तक्षेप गर्दै आयोजकले भने अनुसार हुने जिकिर गरे । लगत्तै सचिव भट्टराईले कार्यक्रम सुरु गरेर माहौल सम्हाल्ने कोसिस गरे । 

सुरुवातमै भट्टराईले आन्तरिक कार्यक्रम भएको भन्दै भिडियो नखिच्न सचेत गराए । लगत्तै आरोप प्रत्यारोप र सुझाव बाट कार्यक्रम सुरु भयो । कार्यकर्ता भन्दा पनि नेताहरूले आपसमा तिक्तता पोखे । नेताहरूले मञ्चबाट गुटबन्दीको अन्त्य गर्नुपर्ने बताउँदै नेतृत्वलाई गाली नगर्न आग्रह गरे ।

नेतृत्व प्रति नरम देखिएका नेताहरूले भर्खरै अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचार समेत गरे । रास्वपा सभापति रवि लामिछाने देखी रास्वपाको कार्यक्रमलाई बारम्बार आरोप लगाइरहे । कार्यकर्ता निराश भएको स्वीकार गरेका नेताहरूले रास्वपाको प्रचारमा समय खर्चिए । 

संविधानसभा सदस्य सिताराम मेहताले रवि लामिछानेको भिजन नभएको बताए । राष्ट्रियता, लोकतान्त्रिक प्रणाली, समानुपातिक समावेशिताको विषयमा रास्वपाको कुनै धारणा नभएको उनको भनाई थियो । जुन अभिव्यक्तिले दर्शक दीर्घामा कुनै ऊर्जा दिएन । काँग्रेसले लिएको विचारको जित भएको तर काँग्रेस कार्यकर्तामा निराशा छाएको बताएका उनले रवि लामिछानेको बारम्बार नाम लिइरहे । 

प्रदेश सदस्य सिजन गुरुङले पनि रास्वपाको सङ्गठन बिस्तार हुने क्रममा रहेको जानकारी गराए । रास्वपामा संलग्न हुने ८० प्रतिशत कार्यकर्ता काँग्रेसबाटै जाने उनले आँकडा पेस गरे । 

जिल्ला सभापति केदार भण्डारीले विगतमा काँग्रेसले केही कमजोरी गरे पनि अब सच्चिनुपर्ने धारणा राखे । वडाको टिकट वितरणमा सही व्यक्ति पहिचान गर्न नसकेको उनले बताए । भण्डारीले पनि रास्वपाको नाम उच्चारण नगरी रहन सकेनन् । रास्वपाको चुनाव चिन्ह घण्टीलाई सम्बोधन गर्दै उनले कुनै सिद्धान्त नभएको तर रेडियो तथा टेलिभिजनमा प्रचार गरेर उदाएको पार्टीको संज्ञा दिए । 

केन्द्रीय सदस्य राजीव ढुङ्गानाले ६ महिनामा उदाएका दलहरूमा कुनै विचार नभएको धारणा राखे । रास्वपाको भोटले काँग्रेसका कार्यकर्ता निराश भएको स्वीकार गर्दै उनले नआत्तिन आग्रह गरे । काँग्रेसको भन्दा बढी कम्युनिस्टको मत बढी रास्वपाले तानेको उनको भनाई छ । तनहुँमा घण्टीले काँग्रेसको भन्दा एमालेको भोट बढी लगेको उनले प्रस्ट पारे ।