• सुकदेब चौधरी

इनरुवा : सुनसरीको दक्षिण सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे सहितको सुरक्षा समितिको टोलीले बिहीबार मातहतका प्रहरी चौकीहरूलाई निर्देशन दिएको छ ।

सीमावर्ती क्षेत्र, सीमा स्तम्भको अनुगमन, निरीक्षणको क्रममा बिहीबार हरिनगर १ को रामनगर भुटाहा र घुस्की प्रहरी चौकी, देवानगञ्ज इलाका प्रहरी कार्यालय, छोटी भन्सार कार्यालय कौवाखोच सम्म अनुगमन गरिएको छ ।

प्रहरी चौकीहरू निकै पुरानो र जीर्ण रहेको भए पनि शान्ति सुरक्षामा खटिएका प्रहरीहरूको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सीमाबाट हुने अवैध ओसारपसार, चोरी तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न चौकीका इन्चार्जहरूलाई निर्देशन दिएकी हुन् ।

उनले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसार पसारका विषयमा बुधवार दुई देशीय सुरक्षा अधिकारीको बैठक भएको बताउँदै त्यसको कार्यान्वयन गर्न लगत्तै अनुगमन गरिएको बताइन् ।

प्रजिअ पाण्डेले सीमावर्ती क्षेत्रको प्रहरी कार्यालय, बस्ने, भान्सा कोठा, नुहाउने, खाने समेत स्थानको अनुगमन, निरीक्षण गरेकी थिइन् । उनले प्रहरी कर्मचारीलाई कार्य सम्पादनको क्रममा सुरक्षा मापदण्डको पालना गरी उच्च मनोबलका साथ प्रभावकारी भूमिका निर्वाह गर्न उत्प्रेरित गरिन् ।

कोशी प्रदेशको तराईका जिल्लामध्ये सुनसरी शान्ति सुरक्षाको हिसाबले संवेदनशीलमा क्षेत्रमा पर्छ । भारतसँग खुला सीमा जोडिएकाले अवैध क्रियाकलाप, लागुऔषध, हातहतियार ओसार पसार, चोरी–तस्करी, मानव बेचबिखन लगायतका घटना हुने गरेको छ ।

अनुगमनमा प्रजिअ पाण्डेको टोलीमा सहायक प्रजिअ माधवप्रसाद ढुङ्गाना, प्रहरी नायव उपरीक्षक राजकुमार राई, सशस्त्र प्रहरी नायव उपरीक्षक विजय कुमार चौधरी, राष्ट्रिय अनुसन्धानका निरीक्षक अरुण कुमार यादव सहित थिए ।