इटहरी : इटहरीको नमुना कलेजले विद्यार्थीबाट अनावश्यक शुल्क लिएको विषयमा नेपाल विद्यार्थी सङ्घले आपत्ति जनाएको छ । शनिवार विज्ञप्ति जारी गर्दे नेविसंघ सुनसरीले विद्यार्थीलाई लुट गर्ने अधिकार कसैसँग नभएको भन्दै विरोध गरेको हो ।

स्नातक तह उत्तीर्ण गरेका कृष्ण प्रसाद भट्टराईले चारित्रिक प्रमाणपत्रमा बढी शुल्क तिर्नुपरेको गुनासो गरेपछि नेविसंघले कलेजलाई चेतावनी दिएको छ । नेविसंघ शैक्षिक उन्नयन र विद्यार्थीका हक अधिकारमा खरो उत्रिँदै आएको बताउँदै नेविसंघले बेथितिमा कुनै सम्झौता नगर्ने बताएको छ ।

नमुना कलेजका विद्यार्थी भट्टराईले प्रमाणपत्र बापत ५ हजार तिरेको भन्दै फेसबुकमा लुटिएको भन्दै आपत्ति जनाएका छन् । इटहरीका अन्य निजी कलेजमा भन्दा बढी शुल्क लिएको महसुस भएपछि विरोध जनाएको जिल्ला सभापति प्रमोद भट्टराईले बताए । ‘विद्यार्थीलाई अनावश्यक शुल्क लिएर लुट गर्ने छुट कुनै पनि शैक्षिक संस्थालाई छैन । शैक्षिक व्यवसाय गर्ने छुट यो व्यवस्थाले दिएको तर लुट गर्ने अधिकार कोही कसैलाई दिएको छैन,’ उनले भने ।

कलेजले अधिक शुल्क लिएर विद्यार्थीलाई तनाव दिने काम भएकोमा नेविसंघले विरोध जनाएको छ । ‘यो विषय एउटा विद्यार्थी सँग मात्र सम्बन्धित छैन सिङ्गो इटहरीको बेइज्जत हुने गरी चालिएको कदम हो । इटहरीलाई शैक्षिक हब बनाउने उद्देश्यले अगाडी बढेको नेविसंघ यस्ता खालका प्रवृत्ति देखी सशङ्कित भएको छ । विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गरी यथाशीघ्र शुल्क समायोजन गर्न जोडदार माग गर्दछौँ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा शिक्षा महाशाखा इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौँ र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय लाई बोधार्थ दिइएको छ ।

Nebi-song-PR