इटहरी : नेपाल सरकारले विनियोजन गरेको आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्त हस्तान्तरणमा सुनसरीका १२ पालिका मध्ये सबैभन्दा बढी इटहरी उपमहानगरपालिकाले पाएको छ । सुनसरीमा करिब ६ अर्ब वित्तीय हस्तान्तरण गर्दा इटहरीले सबै भन्दा बढी बजेट पाएको हो ।

इटहरीले १ अर्ब ८ करोड २७ लाख अनुदान पाउँदा धरान उपमहानगरले ९० करोड २ लाख मात्र अनुदान पाएको छ । विवरण अनुसार धरानको भन्दा इटहरीले १८ करोड बढी अनुदान पाएको हो । चालु आर्थिक वर्षमा पनि धरानले भन्दा इटहरीले १२ करोड बढी बजेट पाएको थियो । धरानले ८३ करोड ४ लाख पाउँदा इटहरीले ९५ करोड २३ लाख पाएको थियो ।   

इटहरीको १ अर्ब ८ करोड २७ लाख बजेट मध्ये ३४ करोड ५२ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ पाएको र ७३ करोड ९७ लाख चालु तर्फ विनियोजन गरिएको छ । धरानको ९० करोड २ लाख बजेट मध्ये ७७ करोड ७६ लाख चालु तर्फ हुँदा २२ करोड २६ लाख पुँजीगत तर्फ रहेको छ ।

सुनसरीका दुई उपमहानगरले कुल १ अर्ब ५८ करोड ९८ लाख रकम अनुदान पाउँदा अन्य ४ नगरपालिकाहरुले भने २ अर्ब २१ लाख अनुदान पाएका छन् । नगरपालिका मध्ये सबै भन्दा बढी अनुदान वराहक्षेत्र नगरपालिकाले पाएको छ । वराहक्षेत्रको चालु ६० करोड १६ लाख र ३ करोड ५४ लाख पुँजीगत गरी जम्मा ६३ करोड ७० लाख बजेट पाएको छ ।

सबैभन्दा कम पाउनेमा गढी गाउँपालिका रहेको छ । गढीले २९ करोड ५२ लाख मात्र बजेट पाएको छ । सुनसरीका ६ गाउँपालिकाले भने २ अर्ब १ करोड २६ लाख वित्तीय हस्तान्तरण पाएका छन् । जसमा सबैभन्दा बढी हरिनगर गाउँपालिका रहेको छ । हरिनगर गाउँपालिकाले ३६ करोड ६ लाख चालु खर्च र १ करोड ४६ लाख पुँजीगत खर्च गरी ३७ करोड ५२ लाख रकम पाएको छ ।

त्यसैगरी, कोशी गाउँपालिका ३६ करोड १८ लाख, देवानगन्ज ३४ करोड ५९ लाख, भोक्राहा ३२ करोड २१ लाख, बर्जू गाउँपालिका ३१ करोड १४ लाख पुँजीगत अनुदान पाएका छन् । 

त्यस्तै, इनरुवा नगरपालिकाको चालु खर्च ४६ करोड ७५ लाख र पुँजीगत खर्च ३ करोड ९ लाख गरी ४९ करोड ८४ लाख अनुदान पाएको छ । दुहबी नगरपालिकाको ४० करोड ९१ लाख चालु तर्फ हुँदा २ करोड ६४ लाख पुँजीगत खर्च गरी ४३ करोड ५५ लाख अनुदान पाएको हो ।

१२ स्थानीय तहको लागी ५ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ । जस मध्ये चालु खर्चमा ५ अर्ब २५ करोड ७१ लाख हुँदा पुँजीगत खर्चमा ७४ करोड २७ लाख रकम विनियोजन गरिएको छ । सुनसरीमा दुई उपमहानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका सहित १२ पालिकाहरू छन् ।