इटहरी : उद्योग वाणिज्य संघ बेलबारीको निर्वाचनको मिति नजिकिँदै गर्दा भेषकुमार श्रेष्ठ (अशोक) को प्यानलको बलियो उपस्थिति देखिएको छ । जेष्ठ २० गते शनिवार हुने निर्वाचनमा श्रेष्ठ नेतृत्वको प्यानलले प्रचारलाई तीव्रता दिएको छ ।

लामो समयदेखि बेलबारीमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठको नेतृत्वमा लोकतान्त्रिक वाम गठबन्धन चुनावी मैदानमा होमिएको छ । स्थानीय व्यवसायीका मुद्दालाई हल गर्ने बाचा सहित अभियानमा लागेको श्रेष्ठ नेतृत्वको प्यानल उवासंघलाई व्यवसायीको भरोसा गर्न लायक संस्था बनाउने योजनामा छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एसको र जनमुक्ति पार्टीको समर्थनमा उनी बलियो देखिएका छन् । स्वयम्भू ज्वेलर्सका सञ्चालक श्रेष्ठ सुनचाँदी व्यवसायी संघका संस्थापक उपाध्यक्ष हुन् । दलीय हिसाबमा पनि बलियो देखिएका उनी बेलबारीका सरल स्वभावका व्यक्ती हुन् ।

व्यवसायीलाई घर बहाल करबाट मुक्त गराउने श्रेष्ठको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । व्यवसाय तथा पर्यटन महोत्सव मार्फत व्यापार वृद्धि गर्ने देखी प्रत्येक वर्ष कर तथा व्यवसायीक प्रवर्धन तालीम प्रदान गर्ने उनले लक्ष्य राखेका छन् ।

व्यवसायीक आपत्कालीन कोषको स्थापना गरी आगलागी वा अन्य कारण डुब्न लागेका व्यवसायीको उद्धार गरिने उनले बताए । सफा र सुन्दर बजार निर्माणमा स्थानीय सरकार सँग पहल गरी फूलबारी सहितको बजार व्यवस्थापन गर्ने उनको भनाई छ । हरेक व्यापारिक संस्थाका कर्मचारीको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याइने उनको बाचा छ ।

thapa1

उता नेकपा एमालेको समर्थनमा माधवराज थापाको नेतृत्वको अर्को प्यानल चुनावी अभियान अगाडी बढेको छ । वर्तमान उपाध्यक्ष समेत रहेका थापा बेलबारीका पुराना व्यवसायी हुन् । एमाले र केही स्वतन्त्र व्यवसायीको साथ पाएका उनलाई आफ्नै पार्टी जोगाउन समस्या पर्दै गएको छ । थापाका चुनावी अभियान्ताहरुनै श्रेष्ठको पक्षमा लागेपछि चुनावी नतिजा प्रभावित हुने देखिएको छ ।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सन्दीप राई, उद्योग उपाध्यक्ष राजन गोर्खाली दर्नाल, वाणिज्य उपाध्यक्ष केशव थापा मगर र महासचिवमा विवेक मिश्र उम्मेदवार भएका छन् । त्यस्तै उद्योग सचिवमा सुरेश कुमार श्रेष्ठ, वाणिज्य सचिव टिकाराज श्रेष्ठ, कोषाध्यक्ष अर्जुन कुमार कार्की र सह कोषाध्यक्ष वसन्त नेपाल सहित २४ सदस्यीय प्यानल चुनावी मैदानमा होमिएको छ ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धर्मराज गुरुङ, वाणिज्य उपाध्यक्ष सुवास श्रेष्ठ, उद्योग उपाध्यक्ष मोहन प्रसाद पोखरेल र महासचिव राजु बस्नेत उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा सुरेन्द्र तामाङ र सह कोषाध्यक्षमा मन्दीरा खत्री चुनावी मैदानमा छन् । वाणिज्य सचिव नगेन्द्र राई र उद्योग सचिव सन्तोष प्रसाईँले चुनावी मैदानमा छन् ।

थापा नेतृत्वको प्यानलले पनि उद्योगी व्यवसायीका मुद्दालाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण थापा प्यानलको मुख्य चुनावी नारा हुन् । थापाले आफ्नो पक्षको मत संरक्षण गर्न नसक्दा श्रेष्ठ फाइँदामा पर्ने देखिएको छ ।