• सुकदेब चौधरी

इनरुवा : केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित भएसँगै इनरुवा नगरपालिका क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार देखि एक सातका लागि बन्द गरिएको छ । 

इनरुवा नगरपालिका क्षेत्र भित्रका विद्यालयहरू जेठ १८ गते देखी २४ गतेसम्म सात दिनका लागि बन्द गरिएको हो । नगरप्रमुख केदार भण्डारीले नगर प्रमुख स्तरीय निर्णय गरी बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बिदा दिएका हुन् ।  

इनरुवामा ३९ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको नगर प्रमुख भण्डारीले बताए ।  गर्मी बढेसँगै स्कुले साना बालबालिका बिरामीसमेत पर्न थालेकाले बन्द गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईका अनुसार अत्यधिक गर्मीले जनजीवन प्रभावित भएपछि बालबालिकाहरूमा असर पर्ने भएकाले नगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय एक हप्तासम्म बन्द गरिएको हो ।