दमक : दमक नगरपालिकाले नगरपालिकाका कर्मचारी हलुका सवारी चालक प्रकाश भण्डारीको निधनमा आज शुक्रवार एक दिन नगरपालिका कार्यालय र मातहतका सबै कार्यालयहरुमा शोक बिदा दिएको छ ।

बिहीबार अचानक मृत्यु भएका भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सो कार्यालय र मातहतका कार्यालयहरुमा लागू हुने गरी शुक्रवार एक दिन बिदा दिएको नगरपालिकाका तर्फबाट प्रशासकीय अधिकृत यज्ञराज निरौलाले हस्ताक्षर गरी बिहीबार साँझ जारी गरेको सूचनामा उल्लेख छ ।

दमक नगरपालिकाका हलुका सवारी चालक प्रकाश भण्डारीको हिजो दिउँसो हृदयाघातका कारण मृत्यु भएको हो । नगर प्रमुख रामकुमार थापालाई विराटनगर लिएर गएका गाडी चालक ४८ वर्षीय भण्डारीको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

नगर प्रमुख थापा कोशी प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन हिजो बिहान विराटनगर गएका थिए।

कार्यक्रम चलिरहेका बखत नै भण्डारीले अकस्मात् आफूलाई छातीमा केही असहज भएको बताएपछि तत्कालै उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा तत्कालै चिकित्सकहरूले भण्डारीलाई मृत घोषणा गरेको दमक-७ का वडाध्यक्ष भीम प्रसाद पौडेलले जानकारी दिए ।

यसैबिच मोटरसाइकल दुर्घटनामा परेर हिजो दिउँसो दमक नगरपालिकाका कार्यपालिका सदस्य एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य लोकबहादुर धिमालकी श्रीमती हिरादेबी धिमालको मृत्यु भएको छ।

दमक-९ स्थित पाणिनी मावि नजिकै दक्षिणतर्फबाट मोटरसाइकलमा पछाडि सवार ६४ वर्षीय हिरादेवी धिमालको अचानक मोटरसाइकलबाट लडेर मृत्यु भएको हो ।

दुर्घटना लगत्तै तत्काल धिमाल दम्पतीलाई उद्धार गरी अस्पताल पुर्‍याइएकोमा हिरादेवीलाई हिजै साँझ बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याउन साथ मृत घोषणा गरेको दमक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार मोटरसाइकलबाट लडेका नगरपालिकाका कार्यपालिका सदस्य एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य लोकबहादुर धिमाल समेत सामान्य घाइते भएका छन् । उनीहरू मोरङको राजघाट पुगेर फर्किने क्रममा सो दुर्घटना भएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।