धरान :  नेपाली चलचित्र जगतमा फरक धारका सिनेमालाई मूलधारको व्यवसायीक फिल्मको रूपमा स्थापित गर्ने निर्देशक, सर्जकत्रय धरानमा सम्मानित भएका छन् ।
चर्चित निर्देशक नवीन सुब्बा एवं उपेन्द्र सुब्बा र सुरज सुब्बा नाल्बो शनिवार सम्मानित भएका हुन् । निर्देशकत्रयलाई याक्थुङ चलचित्रकर्मी सङ्घद्वारा प्रथम महाधिवेशनको अवसरमा सम्मानित गरिएको हो ।
निर्देशक नवीन सुब्बाले २०४८ सालमा नेपालमा पहिलो पटक याक्थुङ/लिम्बु भाषामा लिम्बु सांस्कृतिक, सामाजिक कथामा आधारित ‘तरेबा’ चलचित्र बनाएका हुन् । उनले चर्चित ‘दलन’ टेलि सिरियल पनि बनाएका हुन् ।
फरक धारका चलचित्र निर्माण र मूलधारको व्यवसायीक प्रतिस्पर्धा गर्ने नेपाली सिनेमा सर्जकका रूपमा नवीनलाई महाधिवेशनको उद्घाटन समारोहमा अभिनन्दन गरिएको हो ।
चलचित्र 'जारी'का निर्देशक कवि, लेखक उपेन्द्र सुब्बालाई फक्तालुङ अवार्डबाट सम्मानित गरियो । अर्का चर्चित निर्देशक सुरज सुब्बा नाल्बोलाई चोमोलुङमा अवार्डबाट सम्मानित गरियो ।
सोही अवसरमा वरिष्ठ याक्थुङ्ग कलाकार प्रेम सुब्बा र वरिष्ठ याक्थुङ्ग चलचित्रकर्मी किशोर सुब्बालाई नगद सहित सम्मानित 'वरिष्ठ कलाकार' घोषणा गरिएको छ ।
प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रबिक्रम बेघाले अभिनन्दन, अवार्ड सम्मान-पत्र प्रदान गरेका थिए ।
उनले याक्थुङ/लिम्बू समुदायको संस्कृति नेपाली समाजको मौलिकताको निरन्तरता भएको बताउँदै त्यसलाई समावेशीकरणमा लैजान चलचित्र बलियो माध्यम भएको बताए । उनले भने ‘संस्कार सस्कृतीमा भएका ज्ञानका कुराहरू अरू समुदायले जान्ने बुझने अनुसरण गर्ने अवसर पाउँछन् ।’
धरान-१५ चुम्लुङ हिममा भएको महाधिवेशनको उद्घाटन अघि च्याब्रुङ सहितको सांस्कृतिक झाकी सहभागी रहेको र्‍यालीले धरान बजार परिक्रमा गरेको थियो ।
महाधिवेशनका बिच आज ‘याक्थुङ चलचित्र वर्तमान र भविष्य’ विषयक कार्यशाला गोष्ठी हुँदैछ। महाधिवेशन सङ्घको नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।
yakthung-chalachita-sammaan