धरान : पूर्वी पहाडमा लामो खडेरीपछि भएको भीषण वर्षाका कारण आएको बाढीले ठुलो क्षति पुर्‍याएको छ। कम्तीमा पनि ३ वटा पुल बगाएकोले यातायात अवरुद्ध भएको छ । मानवीय क्षति भए नभएको यकिन विवरण आएको छैन ।

पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखराज मगराती, जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले जिल्लावासीले सतर्क रहन आग्रह गर्दै बाढी पहिरो क्षेत्रमा उद्धार र राहतमा जुट्न पत्रकारहरू मार्फत आव्हान गरेका छन् । 

अहिले सम्म प्राप्त जानकारी अनुसार मेची राजमार्गको फिदिम-४ स्थित हेंवा खोलाको पक्की पुल बाढीले बगाएको छ । मेची राजमार्ग बन्द भएको छ ।

तमोर कोरिडोरको बेलिब्रिज पनि बगाएको छ । फालेलुङ-७ थोकपन वडा ३ मच्छेबुङको मोटरेवल पुल पनि बगाएको छ । 

याङवरकमा १, च्याङथापुमा ४ घर बाढीले बगाएको छ ।

केही हाइड्रोपावर बगाएको छ । केही हाइड्रोपावरमा ठुलो क्षति पुगेको स्थानिय श्रोतहरूले जानकारी दिएको प्रमुख जिल्ला अधिकारी मगरातीले बताएका छन् ।

उनका अनुसार एक बालिका सहित छ जना सम्पर्क विहीन छन् । धेरै घरहरू बगाएको छ । अवरुद्ध राजमार्ग चाँडो खुलाउन पीडित हरूको उद्धार र राहत को लागी केन्द्र सरकार र प्रदेश सरकार को ध्यानाकर्षणका लागि प्रशासन प्रहरीले मिडिया मार्फत अपिल गरेका छन् ।