धरान : लागूऔषध नियन्त्रण ब्युरोको टोलीले नेपालमा प्रयोग हुनेमध्ये नौलो प्रकृतिको लागुऔषध बरामद गरेको छ । झट्ट हेर्दा हुलाक टिकटजस्तै देखिने यो स्टिकर आकारको ड्रग्सको सानो टुक्राले जिब्रो तथा शरीरको कुनै भागमा टाँस्दा नसा दिन्छ ।

यो ड्रग्सको नाम लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) स्टिकर हो । लागूऔषध नियन्त्रण ब्यूरोले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १ सय ३१ पिस  एलएसडी बरामद गरेको छ । यो बरामद परिमाण अहिलेसम्मकै सबैभन्दा धेरै रहेको प्रहरीको दाबी छ ।

लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रबहादुर जोशीका अनुसार यस प्रकारका हार्ड ड्रग्स प्रहरीले आजभन्दा ६/७ वर्ष अगाडि बरामद गरेको थियो । त्यसयता नेपालमा यस्तो लागुऔषध देखिएको थिएन ।

तर असार ५ गते काठमाडौंको ठमेलस्थित सातघुम्ती सडकबाट काठमाडौंको चन्द्रागिरि घर भएका २९ वर्षीय सुगम मैनाली ७ पिस एलएसडी ड्रग्ससहित पक्राउ परे । मैनाली पक्राउ परेपछि सोही दिन प्रहरीले ठमेलबाटै काठमाडौँ घर भएका ४२ वर्षीय मुखिया गुरुङलाई पक्राउ गर्‍यो । मैनालीले एलएसडी आफूले पोखराबाट ल्याएको सूचना प्रहरीलाई चुहाए ।

त्यसपछि प्रहरीले विराटनगर घर भएका २६ वर्षीय बच्चन भनिने राज गौतम र विदेशी नागरिक चेक रिपब्लिककी नागरिक ३२ वर्षीया मार्टिना सेरनालाई एलएसडी २६ पिससहित पोखराबाट पक्राउ गर्‍यो । सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेभिड मण्डियोलाई पक्राउ गरेको एसपी जोशीले बताए ।

अग्रिम बुकिङ गर्नुपर्ने :

एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । निकै महँगो पर्ने र स्टिकरका रूपमा विक्री वितरण गरिने ‘एलएसडी ड्रग्स्’ नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको प्रहरीको आशङ्का छ ।

इटालियन नागरिक डेभिडले भारतबाट स्थलमार्ग हुँदै एलएसडी ड्रग्स नेपाल भित्र्याउने गरेको एसपी जोशीले बताए । ‘नेपाल-भारत पटक पटक ओहोरदोहोर गरेको पाइएको छ’, जोशीले भने ‘हवाई मार्ग हुँदै ५/६ पटक नेपाल आएको पनि अध्यागमनबाट खुलेको छ ।’

डेभिडले होलसेलरको रूपमा एलएसडी नेपाल भित्र्याएर बच्चनलाई बेच्ने गरेको पाइएको छ ।  त्यसपछि बच्चन ट्रान्सपार्टीहरुमा कमिसन खाँदै यो ड्रग्स बेच्ने गरेको प्रहरीले जनाएको छ । नेपालमा एलएसडी ड्र्ग्स प्रयोगकर्ता कम छन् ।

कारोबारीहरूले अनलाइनमा ग्रुप बनाएर पार्टीको बन्दोबस्ती गर्ने गरेका थिए । त्यस्तो ग्रुपमा प्रयोगकर्ता र सप्लाएर मात्र सहभागी हुन्छन् । ‘अरू ड्रगजस्तो सजिलै पाइँदैन । यसका लागि अग्रिम बुकिङ हुन्छ ।कारोबारीले पनि आफ्नो सर्कलभन्दा बाहिर बेच्दैनन् ।,’ एक प्रहरी अधिकृतले भने ।

लागुऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट बरामद गरेको एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी रहेको प्रहरीको दाबी छ ।

ncbncb 2