धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त कायममुकायम उपकुलपति डा.प्रह्लाद कार्कीले प्रतिष्ठानको वर्तमान प्रशासनिक वस्तुस्थिति बुझेर अघि बढ्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
उनले प्रतिष्ठानको समस्या र चुनौती धेरै भएको र त्यसबाट जानकारहरू कोही अनभिज्ञ नरहेको बताउँदै ती समस्याहरू समाधान गर्न अघि बढ्न प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुखहरू जिम्मेवार पक्षहरूसँग वस्तुस्थिति बुझ्ने आफ्नो पहिलो काम हुने बताए ।
आज बिहान ‘कपुरी न्यूज’सँग भएको संक्षिप्त कुराकानीमा उनले भने ‘वीपीको चुनौतीका सामना गर्न सबैको सहयोग चाहिन्छ, प्रशासनिक सुधारका लागि टिम स्पिरिटमा अघि बढने छु ।’ डा.कार्की नियुक्तीपत्र बुझिलिन आज काठमान्डु जाँदैछन् ।
डा.कार्कीलाई आइतबार आइतबार प्रतिष्ठानका सहकुलपति रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी दिएका हुन । अर्को व्यवस्था नभएसम्मका लागि डा. प्रह्लाद कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिने आइतबार मन्त्रीस्तरीय निर्णय भएको हो ।
लामो समय देखी प्रतिष्ठानमै कार्यरत डा. कार्की मुटु रोगका वरिष्ठ चिकित्सक हुन । उनलाई आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
हालसम्म प्रतिष्ठानका शिक्षाध्यक्ष डा.सञ्जीव शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि शर्मालाई निमित्तको जिम्मेवारी दिइएको हो ।