इटहरी : इटहरीको मुख्य चोकमा भएको सवारी दुर्घटनामा सरिता चौधरीको मृत्यु भएको छ ।
इटहरी-८ गैसार घर भएकी चौधरीको घटनास्थलमै मृत्यु भएको हो । आमाछोरी सवार स्कुटरलाई ट्रिपरले ठक्कर दिएको थियो । छोरी अंशु चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खनारमा भदैनीको घरमा पूजामा जाने भन्दै घरबाट निस्केका आमाछोरी दुर्घटनामा परेका हुन । घटनापछि इटहरी चोक लामो समय तनावग्रस्त रह्यो ।
कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको ट्रिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । धरान लाइनबाट आएका दुवै सवारीले ट्राफिक लाइट बल्ने बित्तिकै तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ ।
विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको ट्रिप्परले ठक्कर दिएको हो । लामो समय तनावग्रस्त भएपछि प्रहरीले अश्रु ग्यास प्रयोग गरेर भिड तितरबितर पारेको छ ।