विराटनगर : जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरूसँग उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीसित छात्राहरूले अन्तरक्रिया गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाउन आग्रह गरिन । उनले भनिन, “तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईँहरूको सधैँ साथमा रहनेछ ।”
छात्राहरूको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उनले बताइन । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूलाई साथी नबनाउनसमेत आग्रह समेत गरिन ।
सामाजिक सञ्जालमार्फत साथी बनेर अनैतिक कार्य गरेको पनि पाइने गरेको उनको भनाइ थियो ।
उनले यसअघि पनि विद्यार्थीसँग उपमेयर कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन । विद्यालयमै पुगेर सञ्चालन गरिएको विद्यार्थीसित उपमेयर कार्यक्रम निकै प्रभावकारी भएको उनको भनाइ थियो ।
उद्घाटन समारोहपछि उपमेयर कार्कीले अन्य कर्मचारी र शिक्षकलाई बाहिर पठाएर छात्राहरूसित मात्रै हलभित्र अन्तरक्रिया गरेकी थिइन ।
उपमेयर कार्कीले छात्राहरूले खुलेर आफ्ना समस्या राखेको जानकारी दिइन । “त्यस्तो जटिल किसिमको समस्या त आएको छैन,” उनले भनिन, “तर छात्राहरूले खुलेर आफ्ना मनका कुरा राख्नुभयो ।”
कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईँ, महानगरको शैक्षिक प्रशासन महाशाखाकी अधिकृत तारा शर्मालगायतले मन्तव्य राखेका थिए ।