इटहरी : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने फैसला गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले कोशी प्रदेशसभाका सभामुखको समर्थन असंवैधानिक भएको भन्दै थापालाई पदमुक्त हुने आदेश दिएको हो ।
गत असार २१ मा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा सभामुख बाबुराम गौतमको समर्थन सहित मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख परशुराम खापुङले ९३ सदस्यीय प्रदेशसभामा सभामुख गौतम सहित ४९ सांसदको समर्थन पुगेको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिए । थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने उनको माग थियो ।
बिहीबार सर्वोच्चले सरकार गठन हुनुपर्ने कारण देखाएर सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने बताएको छ । सभामुखको समर्थन संविधान सम्मत नभएको अदालतले उल्लेख गरेको छ । एमाले नेता कार्कीले दाबी गरे अनुसार  मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको छैन ।