धरान : किरात राई यायोक्खाको ३६औँ स्थापना दिवस सुनसरीको धरानमा पनि मनाइएको छ । किराया सुनसरीले आज रक्तदान कार्यक्रमको आयोजना गरी ३६औँ स्थापना दिवस मनाएको हो ।
रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा धरान-१० स्थित किराया यलम्बर स्मृति संग्राहलयको सभाहलमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन भएको किराया सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ जानकारी दिए । उनले डेंगु महामारीका कारण रक्तदाताहरूले रगत दिन नपाउँदा सोचे अनुरूप रगत सङ्कलन नभएको पनि बताए ।
यायोक्खामा योगदान पुर्याउने चार जना सम्मानित :
कार्यक्रममा किरायाको वडामा रहेर लामो समय नेतृत्व योगदान पुर्याउने चार जनालाई  जीवन्त यायोक्खा सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा किराया धरान-१८ का पूर्व अध्यक्ष बिर्ख बहादुर राई, किराया धरान-१७ का अध्यक्ष बलराम राई, किराया धरान-१९ का अध्यक्ष मेघनाथ राई र किराया धरान-८ का अध्यक्ष निरबहादुर राई रहेका छन् ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा किराया केन्द्रीय कार्यसमितिका पूर्व अध्यक्ष तिलक राई, किराया सुनसरी अध्यक्ष राजेन्द्र राईलगायतले किराती संस्कार अनुसार फेटा गुथेर सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।
डेंगु उपचारमा आवश्यक भए यायोक्खाले आफ्नो भवन उपलब्ध गराउने : किराया सुनसरी अध्यक्ष राजेन्द्र राई
कार्यक्रममा किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले डेंगु रोगका कारण अहिले धरान आक्रान्त बनिरहेको बताए । उनले उपमहानगरपालिकालाई डेंगु उपचार केन्द्र बनाउन आवश्यक परेको खण्डमा यायोक्खाले आफ्नो भवनसहित विभिन्न वडामा रहेको भवन समेत निःशुल्क उपलब्ध गराउने बताए । जिल्लाको आफ्नै भवन पनि छ, किरायाको विभिन्न वडाहरूमा आफ्नै भवन छ । अध्यक्ष राईले भने "वडा नंं. ८, १५, १९, १७, ५ र १३ मा किरायाको आफ्नै भवन छ, परिआएको खण्डमा डेंगु उपचार केन्द्रको निम्ति निःशुल्क उपलब्ध गराउँछौँ ।"
कार्यक्रममा प्रमुख अतिथि राईले यायोक्खामा युवाहरूको आकर्षण हुन नसकेको बताए । उनले यायोक्खाको वडा तहमा युवाहरूलाई नेतृत्वमा ल्याउन ठोस योजना बनाएर यायोक्खा लाग्नुपर्ने समेत सुझाव दिए । कार्यक्रममा धरान-८ वडाध्यक्ष धन बहादुर राई, आदिवासी जनजाति समन्वय परिषद् सुनसरी अध्यक्ष राम मान्डुपा राई, किराया सुनसरीका सल्लाहकार पूर्वगार्खा मेजर डिबी साम्पाङ राईलगायतले बोलेका थिए ।   
raktadaan 2
raktadaan 3