इटहरी : नेपाली काँग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो ।

शर्माले मेडिकल काउन्सिललाई बुझाएको प्रमाणपत्र नक्कली भएको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । शर्माको निजी निवास मण्डिकाटारबाट दिउँसो गिरफ्तारीमा परेका छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्माले एमबिबिएस अध्ययन गर्ने क्रममा नक्कली डकुमेन्ट बुझाएको आरोप छ । प्लस्टुको प्रमाणपत्र नक्कली बनाएको सोही प्रमाणपत्र मेडिकल काउन्सिलमा पनि पेस भएको हुनाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको राजीनामा माग गरेका थिए । अर्थमन्त्रीले गलत मनसायबाट व्यवसायीमाथि आक्रमण गरेको भन्दै सरकारको विरोधमा अभिव्यक्ति दिने गरेका छन् । शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक हुन् ।