धरान : डेङ्गु महामारीले धरान आक्रान्त बनेको बेला कांग्रेस केन्द्रीय र प्रदेश समितिले चासो नराखेको भन्दै पार्टीका स्थानिय नेतृत्व असन्तुष्ट भएका छन् ।
धरानमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । हजारौँको सङ्ख्यामा नागरिक डेङ्गु सङ्क्रमित भएका छन् । वडा वडामा उपचार शिविर स्थापना गरिएको छ ।
नेपाली कांग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले सामाजिक सञ्जालमै पार्टी केन्द्रीय, प्रदेश समितिप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन् ‘यस्तो विषम परिस्थितिमा पार्टीका उपल्लो निकाय मौन बस्नु भनेको स्थानीय पार्टी नेतृत्व र जनता प्रति उत्तरदायी नहुनु भन्ने सन्देश समेत जान थालेको छ ।’
उनले पार्टीका दुवै निकायका नेतृत्वलाई आवश्यक स्वास्थ्य सामग्री सहित भौतिक रूपमा धरानको स्थलगत अवस्थाको प्रत्याभूत गर्न समेत स्थानीय नेतृत्वको हैसियतले अनुरोध गर्दै लेखेका छन् ‘नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हुनुभएका स्वास्थ्य मन्त्रीज्यूलाई समेत यसको अध्ययन गरी गाम्भिर्यता अपनाउन समेत आग्रह गर्दछु ।’
सभापति पोखरेलले अहिलेसम्म स्थानिय साधन श्रोतमा पार्टीद्वारा डेङ्गु पीडितलाई सक्दो सहयोग र सिटामोलसम्म बाँडिँदै आएको बताउँदै कपुरीसँग भने ‘यो महामारीमा सबैलाई पर्याप्त सहयोग पुर्याउन स्थानिय श्रोतबाट मात्र सम्भव छैन ।’
कांग्रेस सुनसरी-१ क्षेत्रीय समितिका अध्यक्ष सुजेन्द्र तामाङले पार्टी निकायबाट डेङ्गुका लागि कुनै राहत नआएपनि स्थानिय श्रोत साधन, सौजन्यबाट सङ्कलित सिटामोल र जीवनजल वडा वडामा वितरण गरिरहेको बताए ।
उनका अनुसार कांग्रेसको ‘ग्रिन एन्ड क्लिन धरान’ अभियान चलिरहेको त्यस अभियानमा वृक्षारोपणका लागि ‘एक घर एक बिरुवा’ सँगै डेङ्गु ज्वरो आएमा तत्कालका सिटामोल औषधि पनि वितरण गरिँदै छ ।
आज आइतबार धरान वडा १२ मा कार्यक्रम तयारीका बिच भेटिएका उनले भने ‘प्रत्येक वडामा कम्तीमा पनि १०० घर परिवारलाई सिटामोल औषधि वितरण गर्दै आएका छौँ ।’ वडा ३ मा जीवन जल पनि वितरण गरिएको उनले बताए ।
डेङ्गु उपचार शिविरको निगरानी गरिरहेका बिपी प्रतिष्ठानका प्राडा.सञ्जीव शर्माले डेङ्गु बिरामीका लागि सिटामोल र जीवन जल तथा झोल पदार्थ प्रभावकारी औषधी भएको बताउँदै आएका छन् । उनका अनुसार डेङ्गु बिरामीको लागि यान्टिबायोटिक औषधी प्रयोग गर्नु हुँदैन ।
धरानमा डेङ्गुको महामारी नियन्त्रण बाहिर गएको निष्कर्ष सहित सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिले सङ्घीय गृह मन्त्रालय एवं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रालयलाई धरान सहित डेङ्गु प्रभावित नगर क्षेत्रलाई स्वास्थ्य सङ्कटकाल घोषणा गर्न सिफारिस गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले स्वास्थ्य सङ्कटकाल घोषणा सिफारिस गर्ने निर्णय गरेको हो ।




































































