धरान : लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले आज दिउँसो धरान, बेलबारी, उदयपुर, नुवाकोटका ५ जना युवालाई ब्राउनसुगर सहित विराटनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-१५ का ३३ वर्षीय खेमचन्द्र राई र धरान-८ का ३१ वर्षीय रबिचन्द्र राई छन् । प्रदेश १-०२-०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा रहेका उनीहरू १ ग्राम ५८ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन ।

यसैगरी बेलबारी नगरपालिका-४ का २४ वर्षीय सञ्जीव राई २८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् । प्रदेश १-०१-०१४ प ९८४५ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्दा ब्राउनसुगर बरामद भएको हो ।

सोही स्थानमा को १ ह ६३९५ नम्बरको ट्याम्पोलाई चेकजाँच गर्दा ट्याम्पो चालक उदयपुर गढी गाउँपालिका-८ का २५ वर्षीय इन्द्र बहादुर तामाङ र ट्याम्पोमा रहेका नुवाकोट जिल्ला विदुर नगरपालिका-५ का २४ वर्षीय सुजित डङ्गोललाई २२ ग्राम ३४ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।