इटहरी : कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री उद्धव थापाले आज काँग्रेस सांसद मण्डललाई नियुक्त गरेका हुन् । उद्योग कृषि तथा सहकारी राज्यमन्त्री बनेका मण्डललाई प्रदेश प्रमुख परशुराम खापुङले आजै शपथ ग्रहण गराएका छन् ।

कोशी प्रदेशमा बहुमत पुर्‍याउन एक सांसद निर्णायक हुने भएपछि सत्तारुढ गठबन्धनले चलाखीपूर्ण निर्णय गरेको हो । सभामुख रहेको बाबुराम गौतमले राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री भएपछि उपसभामुखले सदन सञ्चालन गर्नुपर्ने भएको छ ।

उपसभामुख नेकपा एमालेकी सृजना दनुवारले पनि राजीनामा दिए ज्येष्ठ सदस्यले संसद् बैठक सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

काँग्रेस सांसद मण्डल ज्येष्ठ सदस्य भएकाले संसद् बैठक बोलाउनु अगाडी नै गठबन्धनले मन्त्री बनाएको छ । दोस्रो ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका रोहित बहादुर कार्की छन् । काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एस सम्मीलित गठबन्धनमा तत्काल बहुमत देखिन्छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्छन् । सभामुखले राजीनामा दिएपछि हाल गठबन्धन सँग ठिक बहुमत पुगेको छ ।

यसअघि सभामुखले हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले बरखास्त गरेको थियो । पछि सभामुख बाट राजीनामा दिएर गौतमले थापालाई पुनः समर्थन गरे । गौतमको समर्थन पछि थापा मुख्यमन्त्री बनेका छन् ।

नेकपा एमाले बाट उपसभामुख भएकी दनवारले राजीनामा दिए एमालेकै कार्कीले सदन सञ्चालन गर्नुपर्ने हुन्छ । जसले गर्दा वर्तमान गठबन्धनलाई विश्वासको मत पुर्‍याउन सहज हुने देखिन्छ । साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १४ गते भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।