इटहरी : नेकपा एमाले इटहरी उपमहानगरपालिका १६ नम्बर वडा कमिटीले कार्यपालिका सदस्यलाई कारबाही गर्न माग गरेको छ । एमालेबाट कार्यपालिका सदस्य चयन भएका प्रमोद शेर्पालाई मेयरसँग मिलेमतो गरेर वडाध्यक्षको अधिकार कुण्ठित गराएको भन्दै कारबाहीको माग गरिएको हो ।

संसदीय दलको उपनेता रहेका शेर्पाले एमालेको तर्फबाट मेयरसँग संवाद र छलफल गर्दा वडाध्यक्षको संवैधानिक अधिकार हनन गराएको वडा कमिटी अध्यक्ष तेजनारायण चौधरीले बताए । वडाध्यक्ष समेत रहेका चौधरीले पार्टीको हित विपरीतको गतिविधि गरेको भन्दै शेर्पालाई फिर्ता गर्न वडा कमिटीले नगर पार्टीसँग माग गरेको कपुरी न्युजलाई जानकारी दिए ।

अल्पसङ्ख्यक कोटाबाट कार्यपालिका सदस्य भएका शेर्पालाई एमालेले संसदीय दलको उपनेता चयन गरेको हो । नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका शेर्पाले कार्यपालिकामा पार्टी हित विपरीत काम गरेको आरोप लागेको छ । 

१६ नम्बर वडामा रहेको सरस्वती जब्दी स्कुलको व्यवस्थापन समिति अध्यक्ष रहेका शेर्पाले वडाध्यक्षलाई बेवास्ता गरेर प्रधानाध्यापक चयन गरेको वडा कमिटीले जनाएको छ । वडाध्यक्षलाई उपस्थिति गराउनुपर्ने भए पनि शेर्पाले मन मौजी निर्णय गरेको बताइएको छ ।