इटहरी : नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाको रोहवरमा नेपाल विद्यार्थी सङ्घ (नेबिसंघ) को आन्तरिक विवाद समाधान भएको छ। काँग्रेस केन्द्रीय कार्यालय सानेपामा ५ दिनदेखि जारी रिले अनशन आइतबार अन्त्य भएको हो ।

नेबिसंघ केन्द्रीय तदर्थ समिति बिस्तार विधान सम्मत नभएको र महाधिवेशनको मिति तय नभएको भन्दै असन्तुष्ट विद्यार्थी नेताले अनशन सुरु गरेका थिए । महामन्त्रीहरूलाई विधान बुझाउने देखि महाधिवेशन गर्न उनीहरूले दबाब दिँदै आएका छन् ।

सोही क्रममा नेबिसंघका निवर्तमान अध्यक्ष समेत रहेका ढुङ्गानाको अग्रसरतामा अनसनरत पक्षसँग सहमति गरेको छ । नेबीसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्नका लागि सङ्गठनको जिम्मेवारीबाट बाहिर नेताहरूको उचित व्यवस्थापन सहित समावेशी केन्द्रीय तदर्थ समिति एक हप्ता भित्र थप विस्तार गर्ने भएको छ । केन्द्रीय तदर्थ समितिको पहिलो बैठकबाट १२ औँ महाधिवेशनको यथोचित कार्यतालिका सहित मिति घोषणा गर्ने सहमति पत्रमा उल्लेख छ ।

सङ्गठनभित्र हिमाल, पहाड, तराई, मधेस, महिला, जनजाति, दलित, मुस्लिम, थारु, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्र सबैलाई समेटेर नेता कार्यकर्ताको उचित व्यवस्थापन गरिने सभापति दुजाङ शेर्पाले प्रतिबद्धता जनाएका छन् । ४ बुँदे सहमतिको अन्तिम बुँदामा नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा राखेको रिले अनशन अन्त्य गर्ने उल्लेख छ ।

सहमति पत्रमा आन्दोलनरत विद्यार्थीहरू दीपक ओझा, योगेन्द्र रावल, विनोद शाही ठकुरी, अशोक सिंह विष्टले हस्ताक्षर गरेका छन् । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेल, ढुङ्गाना र नेबिसंघ सभापति शेर्पाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

NSu-AGREEMANT