इटहरी : इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको दर घटाउन प्रतिनिधिसभा सदस्य अशोक चौधरीले माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चौधरीले करको दर घटाउन भएको आन्दोलनमा उपमहानगरपालिकाले बेवास्ता गरेको बताए ।

कर तिर्नु नागरिकको दायित्व र कर तिर्ने वातावरण बनाउनु सरकारको दायित्व भएको बताउँदै उनले इटहरी उपमहानगरपालिका जनताप्रति उत्तरदायी नभएको धारणा राखे । मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले व्यापार मन्दी भएको बेला कर बढाउनु गलत भएको बताए । कर वृद्धिले व्यापारी व्यवसायीहरू निराश भएको बताउँदै उनले कर वृद्धिको विरुद्धमा आवाज उठाएको २० दिन पुग्दा समेत सरोकारवालाबाट बेवास्ता भएको धारणा राखे ।

३१६ प्रतिशत भन्दा बढी कर बढेको बताउँदै सङ्घीय संसदमा उपमहानगरको कर बारे जानकारी गराएका हुन् । इटहरीबाटै प्रतिनिधित्व गर्ने सांसद चौधरीले लम्पीस्कीन रोगको बारेमा समेत सरकारको ध्यानाकर्षण गराए । गाईबस्तुमा लाग्ने लम्पीस्कीन रोगको कारण ५४ अर्ब ७ करोडको क्षति भएको उनले जानकारी गराए ।