काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनको अनुसन्धान गर्न सीआईबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टिम भारत पुगेको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (ईन्टरपोल)को समन्वयमा सूचना सङ्कलनका लागि भण्डारी नेतृत्वको टिम भारत पुगेको हो । सुन अनुसन्धान टिममा दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि सहभागी छन् ।

काठमाडौँबाट गएको टिमले एसएसपी चतुर्वेदीसँग समन्वय गरेर काम गर्ने अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । अनुसन्धानमा अब्बल मानिएका डिएसपी भण्डारी भारत पुगेर अनुसन्धानको काम सुरु गरेको एक प्रहरी अधिकृतले बताए । हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भण्डारी भारत गएका हुन् । सीआईबीमा भण्डारी अनुसन्धानमा निकै अब्बल भएको कारण उहाँ नै नेतृत्वमा एउटा टिम भारत पठाएका छौ सीआईबीका ती अधिकारीले भने ।

सीआईबीले सूचना सङ्कलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् ।

हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

अनुसन्धानका लागि इन्टरपोलको सहयोग माग्दै सीआईबीले प्रहरी प्रधान कार्यालय मार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ । सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

बरामद सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।