इटहरी : इटहरी उपमहानगरपालिकाले वृद्धि गरेको करको विरुद्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिना दिनदेखि आन्दोलन जारी राखेको छ । इटहरी उपमहानगरपालिकाको गेट अगाडी आन्दोलन गरिरहेको रास्वपाले आज कोणसभाको आयोजना गर्‍यो ।

इटहरीका विभिन्न व्यक्ती सहितको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । भर्खरै रास्वपा प्रवेश गरेका कवि मनु मञ्जीलले कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजको भूमिकामा प्रश्न उठाए । नागरिकलाई समस्या परिरहेको बेला नागरिक समाज मौन भएको उनको भनाइ छ । नागरिकको दुखमा नबोल्ने नागरिक समाज दलहरूको दास भएको उनको तर्क छ ।

इटहरी उपमहानगरपालिकाले जनतालाई सेवा दिने भन्दा पनि दुख दिने उद्देश्य राखेको बताए । आर्थिक मन्दीसँगै व्यापारीको पलायन बढिरहेको बेला अवैज्ञानिक मात्र नभई अवैधानिक रूपमा भएको कर वृद्धिले इटहरीका नागरिक आजित भएको उनको तर्क छ ।

सोही भेलालाई स्वतन्त्र रूपमा सम्बोधन गर्दै प्राध्यापक डाक्टर बद्री विशाल पोखरेलले जनताको भावना विपरीत काम भएको बताए । नागरिक समाजले खबरदारी गर्नुपर्ने बेला चुप लागेर मौनता साधेको तर्क गरे । सरकारको सदाबहार प्रतिपक्षी नागरिक समाजले कर वृद्धिमा समर्थन गरेको जस्तो देखिएको उनको भनाइ छ ।

रास्वपा इटहरीले इटहरीको मुख्य राजमार्गमा ई रिक्साको निषेधलाई पनि विरोध जनाएको छ । जनताले गरिखाने बाटो बन्द गर्न उपमहानगर लागि परेको रास्वपाको तर्क छ ।