धरान : नेकपा (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको धरानमा हुने प्रथम कोशी प्रदेश अधिवेशनको ब्यानर सहित प्रचार सामाग्रीमा ‘कोशी प्रदेश’ नलेख्न प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति मार्फत सङ्गठनका नेताहरूलाई आग्रह गरेको छ ।

सङ्घको अधिवेशन भदौ २३ र २४ गते धरानमा हुँदैछ । सङ्घर्ष समितिद्वारा आज बिहीबार प्रकाशित वक्तव्यमा भनिएको छ ‘अधिवेशनमा प्रचार सामाग्रीमा ‘कोशी’ नलेख्न सङ्गठनका नेताहरूलाई विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।’

साथै ‘कोशी’ नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्यहरू र साम्प्रदायिक हिंसा भड्काउने, होच्याउने प्रकारको अभिव्यक्ति दिने अन्य केही व्यक्ति विरुद्ध कालो झण्डा देखाउने सङ्घर्ष समितिको नीति र कार्यक्रम रहेकोले ती सांसद र व्यक्तिलाई नल्याउन/नबोलाउन आयोजकहरूलाई’ वक्तव्य मार्फत चेतावनी दिइएको छ ।

अधिवेशन सञ्चालनका लागि ४ सूत्रीय माग प्रस्तुत गरिएको छ । पहिलो माग ‘अधिवेशनको ब्यानर लगायत कुनै पनि प्रचार सामाग्रीमा ‘कोशी’ नाम नलेख्न र उच्चारण नगर्न’ भनिएको छ । जनताको आन्दोलनलाई अपशब्द प्रयोग गरी गाली गर्ने पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व मन्त्री योगेश भट्टराई र ‘आफ्नै समुदाय विरुद्ध उत्रिने’ क्षितिज थेबेलाई नबोलाउन भनिएको छ ।

‘कोशी’ नाम खारेजीको आन्दोलनकारीहरू दिवा चेम्जोङ, बुलुन लिम्बु, शुक्रबहादुर लिम्बु, सानुकुमार लिम्बु, आरामकुमार लिम्बु लगायत माथि धनकुटा जिल्ला प्रहरीले लगाएको मुद्दा फिर्ता लिनुपर्ने शर्त पनि राखिएको छ ।

सङ्घर्ष समितिका मागका बारेमा हिजो मङ्गलवार धरानमा दुई पक्ष बिच छलफल भए पनि निष्कर्ष निस्की नसकेको उल्लेख गर्दै वक्तव्यमा ‘आधिकारिक विज्ञप्ति सार्वजनिक नभएकोले भ्रममा नपरी खराब अभिव्यक्ति र ‘कोशी’ नाम विरुद्ध हुने प्रदर्शनको तयारीमा लाग्न’ आव्हान गरिएको छ ।

सङ्घर्ष समितिको अध्यक्ष मण्डलका सदस्य किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले आन्दोलनकारीहरूलाई लक्षित गर्दै आज सामाजिक सञ्जालमा गरिएको वक्तव्य पोष्टमा लेखेका छन् ‘खुट्टा कसै नकमाउ, कुनै पनि तहका नेताले, आत्मसमर्पण गर्ने कुरै छैन ।’

yuwa-sang-pahichan