धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै निहुँमा प्रहरी बोलाएर पक्राउ गराएको भनी सामाजिक सञ्जालमा भाइरल बनेका युवक अशोक लिम्बुलाई आज शनिवार साँझ धरान-१५ का वडाध्यक्ष नरेश ईवारामले छुटाएर ल्याएका छन्।

उनलाई पक्राउ गराएर इलाका प्रहरी कार्यालयको हिरासतमा थुनाएपछि मेयर साम्पाङ सामाजिक सञ्जालमा ‘बदमास’ भन्दै यस्तो स्ट्याटस लेखेका थिए ‘बदमासलाई प्रहरी जिम्मा लगाइयो । स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिने छैन । जय देश ।’

उक्त स्ट्याटस सार्वजनिक भएपछि मेयर साम्पाङको आलोचना पनि भाइरलै भएको थियो । धरान बोल्ने नपाइने तानासाही राज आएका, वाक स्वतन्त्रतामा प्रतिबन्ध लगाइएको देखी मेयर साम्पाङले आफूलाई राजा नै ठानेको सम्म टिप्पणी गरिएको फेसबुक टिप्पणी भाइरल भएको थियो । धेरैले प्रहरी पनि मेयरको गुलाम भएको पनि भनेका थिए ।

शुक्रवार मेयर हर्क साम्पाङको टोली डेंगुको लार्भा खोज र नष्ट गर अभियानमा धरान-१५ शिवगंगा बस्तीमा पुगेको बेला अशोक लिम्बुले प्रश्न गरे पछि मेयर साम्पाङले प्रहरी बोलाएर लिम्बुलाई पक्राउ गराई इलाका प्रहरी कार्यालयमा थुनामा राखेका थिए ।

लिम्बु आमा बिरामी भएकोले विदेशबाट इमरजेन्सी छुट्टिमा २ महिना अगाडि मात्र नेपाल आएका थिए । उनले भने ‘छिमेकीमा छोरा बिरामी छ आमा बोल्न सक्दैन अहिले सम्म पैसा उठाउँदै उपचार गर्दै छ त्यही घरमा गएर मेयरले सरसफाइ किन नगरेको पानी जम्न किन दिएको भन्दै पिडामा रहेको अपाङ्गलाई हप्काएको देखे पछि प्रश्न सोध्दा मेयर पनि एग्रेसिभ भएकोले म पनि आक्रोशित भएको हो।’

विदेशमा हुँदा मेयर ठिक लाग्ने गरेको तर यथार्थमा त्यस्तो नरहेको पाएको बताउँदै उनले टोलको बाटोमा बत्ती छैन भनी कुरा गर्दा मेयरले वास्ता नगरेको उल्लेख गरे । भने ‘जनताको दुःख, समस्या नबुझ्ने अनि बिरामी अपाङ्गको घरमा आएर आफू गरेर जस्तो गरेर दर्जनौँ क्यामराले खिच्ने तर घर भित्र छटपटी रहेको बिरामी न मेयरले देख्यो न पत्रकारले ।’

मेयर साम्पाङको यस्तो व्यवहार देखेपछि उक्त बिषयमा पत्रकार सँग कुरा गर्दा गर्दै मेयर सँग प्रश्न गर्न पुगेको  अशोक लिम्बुले बताए । उनलाई धरान १५ का वडा अध्यक्ष नरेश ईवारामले आफ्नो जमानीमा शनिवार साँझ रिहा गरी ल्याएका हुन् ।

लिम्बुले गाली गलौजको मुद्दामा मेयरले आफूलाई जेल चलान गर्न तयार गरेकोमा चित्त दुखाए ।