सुनसरी : सुनसरीको बर्जू गाउँपालिका १ शुक्रबारेमा सादा पोसाकका प्रहरीलाई आक्रमण गरी हतियार लुट्ने ६ जना पक्राउ परेका छन् भने प्रहरीको पेस्तोल र गोली समेत बरामद भएको छ ।

उनीहरूलाई आइतबार बिहान ३ बजे मोरङ नेमुवा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । लुटिएको चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउन्ड गोली बरामद भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

शनिवार ५ बजेदेखि प्रदेश प्रहरी, सङ्घीय प्रहरी र जिल्ला प्रहरीको विशेष टोलीले सञ्चालन गरेको अप्रेसनमा लुटिएको हतियार र लुट्ने व्यक्तिहरू पक्राउ पर्न सफल भएका हुन ।

साथै पक्राउ परेकाहरूको साथबाट केही थान पेस्तोल र गोली समेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने तयारी गरिएको छ ।