इटहरी : नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) ले आयोजना गरेको बिपी सप्ताह आइतबार समापन भएको छ । सप्ताहको अन्तिम दिन विश्वेश्वर प्रसाद कोइरालाको जन्मोत्सवको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको हो ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजित वक्तृत्वकला कार्यक्रममा कस्तुरी कलेजकी जमुना शेर्पा प्रथम भएकी छिन् । ‘क्रितिम वौद्धिकता (आर्टीफिसियल इन्टेलिजेन्स) को युगमा बिपीको समाजवादको महत्त्व’ शीर्षकको वक्तृत्वकलामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै शेर्पा प्रथम भएकी हुन् ।

त्यस्तै सिबी कलेजका आकाश विक दोस्रो भए भने जनता बहुमुखी क्याम्पस इटहरीकी बरुना पराजुली तेस्रो भइन् । प्रथम भएकी शेर्पाले ५ हजार नगद कप र प्रमाणपत्र पाइन् । दोस्रो हुने विकले ३ हजार र तेस्रो भएकी पराजुलीले ३ हजार नगद सहित कप र प्रमाणपत्र प्राप्त गरे । साथै सहभागी सम्पूर्ण प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको आयोजक क्षेत्रीय समितिका सभापति सुवेक्छु  देवानले बताए ।

भदौ १६ गते काँग्रेस रन बाट सुरु भएको सप्ताहमा २० गते बिपी साहित्य सन्ध्या र २२ गते वृक्षारोपण कार्यक्रम सम्पन्न भइसकेका छन् । पछिल्लो समयको प्रविधि सँग बिपीको समाजवादको भिन्नता र समानताको विषयमा नयाँ डिस्कोर्ष सुरु गरिएको सभापति देवान बताउँछन् ।

काँग्रेसलाई राजनीतिक गतिविधि सँगैसँगै साहित्य र रचनात्मक क्षेत्रमा अगाडी बढाउने प्रयास थालिएको उनले बताए । राजनीतिमा चासो नभएका अन्य समुदायलाई समेट्ने गरी काँग्रेस अगाडी बढ्ने उनको भनाइ छ ।